क्रसर उद्योगको मनोमानीले मासिँदै घाट

क्रसर उद्योगको मनोमानीले मासिँदै घाट

शुक्रबार बिहान रामेछाप नगरपालिका ७ का अमर बहादुर मगरको शव लिएर मलामीहरु मन्थली स्थित सुकाजोर खोलाको दोभानको घाट पुगे । केही महिना अघिसम्म ठिकठाक रहेको सो घाटमा क्रसर उद्योग संचालन भएपछि स्वरुप नै विग्रीएको थियो । घाटसम्म पुग्ने सडक थिएन,नदीको पानी पहिलाभन्दा धेरै माथि आएको थियो,ढुंगा,गिटी,बालुवा र रोडाहरु पिलिरहेको,थुपारिरहेको,डोजरले खनिरहेको र केही टिफरहरु ति सामाग्रीहरु ओसारिरहेको देखिन्थ्यो ।

शव जलाउने कतै ठाउँ नै देखिएन,तामाकोशी नदीको किनारासम्म पुग्नै नसकिने अवस्था थियो । जताततै डोजरले खनेर भिर बनाएको अनि क्रसर उद्योगले थुपारेका सामाग्रीहरु मात्रै थियो । लगभग एक घण्टा कुरेपछि बल्ल डोजरले नदीको किनारासम्म जान सक्ने गरी माटो सम्याईदियो । नदीको पानी माथिसम्म नै थियो ।

हिलो र घुँडासम्म आउने पानीको कुनै प्रवाह नगरि मलामीहरु लाश बाकेर नदीको किनारामा त पुगे, तर लाश जलाउने ठाउँ नै कतै थिएन । असारको महिना तामाकोशी नदी वारपार अनवरत बगीरहेको थियो । सबै मलामी ढुंगा खोज्नतिर लागे । सबै मिलेर ढुंगा जम्मा गरिसकेपछि बल्ल चिता बनाउने ठाउँ बन्यो । चिता तयार भएपछि शवको अन्तिम संस्कार त गरियो तर अब लाश लिएर आउँदा अन्तिम संस्कार काहाँ गर्ने होला भन्ने चिन्ता थपिएको सुकाजोरवासीलाई ।

साविकको सुकाजोर गाविसका कोही मानिसहरुको मृत्यु भएपछि अन्तिम संस्कारको लागी लिएर आउने घाटको अस्तित्व नै संकटमा परेको छ । यो घाट अहिले क्रसर उद्योगको मनोमानी र लापरवाहीले हराउने अवस्थामा पुगेको छ । घाटको अहिलेको अवस्था देखेर अबका दिनमा कोही मानिसको मृत्यु भए काहाँ लैजाने भन्ने चिन्ता थपिएको सुकाजोरका ७० वर्षिय राम बहादुर मगरले बताउनुभयो । ठाउँ अनुसार घाट पनि आ–आफ्नै हुने भन्दै उहाँले अरु घाटमा लाश लैजान नमिल्ने बताउनुभयो ।

रामेछाप सुकाजोरकै ७८ वर्षिय गोेपाल बहादुर महतारालाई पनि घाट नासिदै गएको प्रति दुख लागेको छ । घाटहरुको संरक्षण हुनपर्नेमा झन विनाश हुँदै गएको भन्दै उहाँले तत्काल गलत काम सच्याउन आग्रह गर्नुभयो ।

कमल बस्नेत संचालक रहेको मन्थली रोडा,ढुंगा उद्योगले घाटको अवस्था र स्वरुप नै बिगारेको भन्दै स्थानिय आक्रोशित भएका छन । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले उक्त घाटको अनुगमन गरिने बताउनुभयो ।

यदि मापदण्ड विपरित काम भएको पाइए कारबाहीका लागी प्रशासनमा सिफारिस गरिने उहाँले बताउनुभयो । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जिससले कारबाहीको लागी सिफारिस गरेमा आफुहरु बारबाही गर्न तयार रहेको बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार