रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण गरिएको छ । विगत तिन वर्षदेखी वडा कार्यालयले बजेट नै विनियोजन गरेर फलफूलको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै आएको हो ।
वडाको लेक र बेसीका भूभागहरुमा उत्पादन हुने फलफूलको बिरुवाहरु वितरण गर्दै आएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । रामपुरलाई फलफूलको हब बनाउन बगैँचा व्यवस्थापन सहितको अवधारणा अनुसार बिरुवाहरु वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
सोमबार रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको उपस्थितीमा किसानहरुलाई जुनार,सुन्तला,कागती,लिची र आँपका २५ सय भन्दा बढी बिरुवाहरु वितरण गरिएको हो । ३ वर्षको अवद्यिमा ८ हजार बढी फलफूलको विरुवाहरु वितरण गरिसकिएको उहाँले बताउनुभयो ।
किसानले आवश्यकता अनुसार विरुवाहरु लैजाने गरेको र गतवर्षहरुमा रोपिएका सबै बिरुवाहरु हुर्कदै गरेको उहाँको भनाई छ । यसले तत्कालै नभएपनि केही वर्षपछि वडाका नागरीकहरुको आम्दानीको श्रोत बन्ने आफुले विश्वास लिएको उहाँले बताउनुभयो ।