रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मङ्गलवार सम्पन्न भएको उमाकुण्ड गाउँपालिकाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, पुर्वधार, पर्यटन, सामाजिक विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै ११८ बुँदामा समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष सुनुवारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई गाउँ सभाका सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए । नीति तथा कार्यक्रमसँगै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले प्रस्तुत गरेको बजेट अनुसार वडा १ गुम्देललाई ६१ लाख, वडा नं २ बाम्तीभण्डारलाई ६४ लाख, वडा नं ३ कुबुकास्थलीलाई ५५ लाख ५० हजार, वडा नं ४ प्रिति ६१ लाख, वडा नं ५ प्रितिलाई ६२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ५० लाख र वडा नं ७ भुजीलाई ६५ लाख ५० हजार विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सबै लाग्नु पर्नेमा सभाका अध्यक्ष तथा सभाका सदस्यहरूले जोड दिएका छन् ।