रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ कुनाउरीदेखि वडा नं ७ भटौलीको ठेडिखोलासम्म तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ। स्थानीयका अनुसार मन्थली–७ मुगिटार नजिक आइतबार बिहान निर्माणाधीन पुलको एक स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको हो। यसअघि गत वैशाख २६ गते पनि सोही स्ल्याबमा क्षति पुगेको थियो, जसको मर्मत कार्य भइरहेको थियो। २०७८/७९ मा सडक विभागको पुल शाखामार्फत ठेक्का सम्झौता भएको यो पुल डिजाइन एन्ड विल्ड मोडल अन्तर्गत कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको थियो।
कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडाइको उक्त पक्की पुलका लागि सरकारसँग करिब २२ करोड ५५ लाख ४० हजारको ठेक्का सम्झौता भएको थियो। भ्याट र एक् आइटम बाहेकको यो रकममध्ये निर्माण कम्पनीले हालसम्म ६० प्रतिशतभन्दा बढी भुक्तानी लिइसकेको छ। निर्माण नहुँदै भत्किएको पुलप्रति स्थानीयबासी आक्रोशित देखिएका छन्। पुल भत्किएको समाचार फैलिएपछि ठूलो संख्यामा स्थानीय घटनास्थलमा भेला भएका छन्।
निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठ्दै गर्दा प्रशासन र जिम्मेवार निकाय मौन छन्। तामाकोशीमाथिको यो पुल रामेछापको मन्थली नगरपालिका–७ भटौली, खाँडादेवी सुनापती र दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न वडासँग मन्थली बजार र खुर्कोट सडक हुँदै काठमाडौँ जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा अपेक्षित थियो।
असारभित्र निर्माण सम्पन्न हुने चर्चा भइरहँदा भदौ अन्तिमसम्म म्याद बाँकी छँदै पुलको यस्तो अवस्था देखिनुले योजना कार्यान्वयनप्रति गम्भीर कमजोरी देखिएको स्थानीयको टिप्पणी छ। करोडौं रुपैयाँ खर्चिएको पुल निर्माण नसकिँदै भत्किएको घटनाले निर्माण व्यवसायी र सुपरिवेक्षण निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयबासी र सरोकारवालाहरूले तत्काल उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही र पुनःगुणस्तरीय निर्माणको माग गरेका छन्।