गोलन्जोरको नीति तथा कार्यक्रम सार्वजनिक,वडाअध्यक्षले लेखे नोट अफ डिसेन्ट

गोलन्जोरको नीति तथा कार्यक्रम सार्वजनिक,वडाअध्यक्षले लेखे नोट अफ डिसेन्ट

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार(आज) १७ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष शंकर राज बरालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

कृषि तथा पशुपंक्षी,पर्यटन,उद्योग तथा वाणिज्य,सहकारी,शिक्षा,युवा तथा खेलकुद,स्वास्थ्य तथा आयूर्वेद,खानेपानी तथा सरसफाई,महिला बालबालिका तथा जेष्ठ नागरीक,कला तथा संस्कृति प्रवद्र्धन,सडक तथा पुल,सिँचाई भवन तथा सहरी विकास लगायतको क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

यसैगरी भूउपयोग,उर्जा तथा विद्युत,सूचना तथा प्रविधि,फोहोरमैला व्यवस्थापन,वन तथा वातावरण,विपद व्यवस्थापन,सुशासन,सामाजिक सुरक्षा र राजश्व परिचालनको क्षेत्रलाई पनि मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

गाउँपालिकाले एक घर एक धारा कार्यक्रम,स्वास्थ्य बिमा कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । जुनार ब्रान्डिङ्ग,बजारिकरण र महोत्सवको आयोजना गरिने,गाउँपालिका भित्र रिङ्गरोड निर्माणको अवधारणा ल्याइने अध्यक्ष बरालले बताउनुभयो ।

हायु भाषाको संरक्षणको लागी हायु संग्राहलय निर्माण गरिने,हरेक घाटहरुमा मलामी विश्राम स्थल र शौचालय निर्माण गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गरिब तथा विपन्न नागरीकलाई निशुल्क विद्युत मिटर वितरण गरिने,डिजिटल नागरिक वडापत्रको सुरुवात गरिने,बाँदर नियन्त्रणका लागी वनजंगलमा फलफूल खेती गरिने,विपद व्यवस्थापनको लागी पालिका तथा वडा स्तरीय गोदाम घर निर्माण गरिने लगायतका विविध कुराहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

वडा नं ६ का वडाअध्यक्ष रविन कुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष बरालले नीति तथा कार्यक्रममा सभाका सदस्यहरुलाई आफ्नो धारणा राख्न नदिएको भन्दै नोट अफ डिसेन्ट लेख्नुभयो ।

कुनै बैठक नै नबसी,बिना सल्लाह नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । गाउँपालिले आगामी आ.व.को बजेट यहि असार १० गते सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार