नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रामेछाप नगर समितिले रामेछाप नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जनताको पक्षमा आशालाग्दो,रहरलाग्दो र भरलाग्दो समाजवादी बजेट निर्माणको लागी माओवादी केन्द्रले माग गरेको छ ।
माओवादी केन्द रामेछाप नगरका ईन्चार्ज शिशिर खड्गीले नगरपालिका प्रमुख लबश्री न्यौपानेलाई ज्ञापन पत्र बुझाउनुभयो । ईन्चार्ज खड्गी सहितका नेता कार्यकर्ता नगर प्रमुख न्यौपानेको कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा शिक्षा,कृषि,सडक,खानेपानी तथा सिँचाई,उद्योग,खेलकुद,पर्यटन,सहकारी,विद्युतिकरण,सुशासन,सुरक्षा र अन्य विविध कुराहरुलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन आग्रह गरिएको छ ।
रामेछाप र साँघुटार हाटबजार व्यवस्थापन गर्नुपर्ने,९ वटै वडा केन्द्रहरुमा बजार व्यवस्थापन गुरु योजना बनाई कार्यन्वयन गर्नुपर्ने,पुष्पलालपार्क,रामेछाप बजार र हिलेपानी समेटेर सहरीकरण गुरुयोजना निर्माण गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले सिमित श्रोत र साधनले चलेको नगरपालिकामा चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभयो । पुरा गर्न सक्ने खालका केही मागहरुलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उहाँले बताउनुभयो ।