वितेको ६ वर्षमा रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाको मृत्यु भएको छ । राजगारीको शिलशिलामा कामको लागी विभिन्न देश गएका ३१ जनाको मृत्यु भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक दीपक केसीले बताउनुभयो । पत्रकारहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा केसीले वैदेशिक रोजगार सम्बन्धि विविध कुराहरुको बारेमा जानकारी गराउनुभयो । ६ वर्षको अवद्यिमा १५ जना अंगभंग भएर स्वदेश फर्किएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा जिल्लाबाट ६ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेश गएका छन । साउनदेखि चैत्र मसान्तसम्मको तथ्यांकअनुसार ६ हजार ७६ जनाले विभिन्न मुलुकमा श्रम स्वीकृति लिएर विदेश गएका हुन । वैदेशिक रोजगारमा जानेहरूमध्ये ४ हजार ७ सय २० जना पुरुष र १ हजार ३ सय ५६ जना महिला रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ९ महिनामै उल्लेख्य संख्यामा युवाहरू विदेशिएको (सामी) का जिल्ला संयोजक केसीले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा रामेछापका ७ हजार ४ सय ३१ जनाले श्रम स्वीकृति लिएका थिए । जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने ३ हजार ६ सय ३३ जनालाई आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको छ ।
अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे लगायत जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभाीहरुले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।