रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडा बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा भएको छ । मंगलबार(आज) नगरपालिकाको सबै वडाहरुलाई एकैसाथ बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो । वडा नं १ गोठगाउँ,वडानं २ देउराली,वडा नं ३ साँघुटार,वडा नं ४ हिमगंगा,वडा नं ५ रामपुर,वडा नं ६ ओख्रेनी,वडा नं ७ सुकाजोर,वडा नं ८ रामेछाप र वडा नं ल्याङ्गल्याङ्गलाई बालमैत्री घोषणा गरिएको हो ।
सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन भैसकेपछि सबै वडालाई एकैदिन बालमैत्री घोषणा गरिएको हो । सबै वडाहरुले २०७९ असोज २६ गतेदेखी बालमैत्री स्थानिय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ९ वटै वडा बालमैत्री वडा घोषणा भएको हो ।
वडा नं १ मा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका निवर्तमान उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता रहेको थियो । वडा नं २ मा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा नं ३ मा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा नं ४ मा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,वडा नं ५ मा जिल्ला समन्वय अधिकारी हरि कृष्ण फुयाल र वडा नं ६ मा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यसैगरी वडा नं ७ मा निवर्तमान उर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं ८ मा शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल र वडा नं ९ मा बाग्मती प्रदेश सभा सदस्य तारा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाका ९ वटै वडा बालमैत्री घोषणा भएका हुन । नगरका सबै वडाहरुले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको हो । वडा घोषणा पश्चात बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइने र उक्त प्रतिवेदन अनुमोदन भएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने छ । घोषणा कार्यक्रममा सहभागीहरुले बालमैत्रीलाई दिगोपना दिन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।