रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडा यहि जेठ २७ गते बालमैत्री घोषणा हुँदैछ । सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन समेत भैसकेकाले सबै वडालाई एकैदिन बालमैत्री घोषणा गर्न लागिएको नगरपालिकाका वरिष्ठ शाखा अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले बताउनुभयो ।
९ वटै वडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको थापाले बताउनुभयो । वडाहरुको विभिन्न ठाउँमा गेट निर्माण,कार्यक्रमको व्यवस्थापन लगायतको कामहरु लगभग सकिएको सूचना अधिकारी थापाको भनाई छ ।
सबै वडाहरुले २०७९ असोज २६ गतेदेखी बालमैत्री स्थानिय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ९ वटै वडा बालमैत्री वडा घोषणाका लागि जिल्ला समन्वय समितिले अनुगमन गरिसकेको छ ।
सबै वडाहरुले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको हो । वडा घोषणा पश्चात बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइने र उक्त प्रतिवेदन अनुमोदन भएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने सूचना अधिकारी थापाले बताउनुभयो ।