मन्थली नगरपालिका यहि जेठ महिनाभरीमै बालमैत्री घोषणा हुँदै

मन्थली नगरपालिका यहि जेठ महिनाभरीमै बालमैत्री घोषणा हुँदै

रामेछापको मन्थली नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । यहि जेठ महिनाभरीमै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने गरी कामहरु भैरहेको नगरपालिकाका सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखाका प्रमुख हेमन्त कुमार बुढोथोकीले बताउनुभयो ।

बुधबार(आज) बालमैत्री स्थानिय शासन अवस्था सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा बुढोथोकीले हालसम्म भएको प्रगती विवरण प्रस्तुत गर्नुभयो । नगरपालिकाले ४ वर्षअघिदेखी बालमैत्री नगर घोषणाको लागी आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो ।

विभिन्न सूचकहरु पुरा गर्दै अब भने घोषणाको अन्तिम तयारीमा पुगेको छ । नगरपालिकाले अहिलेसम्म भएको कामहरु,खर्चको विवरण र कार्यक्रमको उपलब्धि समेत जानकारी गराएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका १४ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले जिल्ला समन्वय समितिमा सिफारिस गरिसकेको छ ।

नगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको नगरपालिका प्रमुख लब श्रेष्ठले बताउनुभयो । जिल्लास्तरीय समितिको अनुगमन सकिएको र अब बाग्मती प्रदेशस्तरीय समितिले उक्त अनुगमनको प्रतिवेदन अनुमोदन गरेपछि बालमैत्री नगर घोषणा हुने उहाँले बताउनुभयो । बालमैत्री नगरपालिका घोषण पश्चात नगरपालिकाले बालमैत्री नगरपालिका कायम गर्नका लागि निरन्तर बजेट विनियोजन तथा कार्यान्वयन गर्दै जाने नगर प्रमुख श्रेष्ठको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले बालमैत्री नगरपालिका घोषणासँगै कार्यान्वयनमा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यसमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । जिल्लाको दुई वटा नगरपालिका यहि महिना भित्रै बालमैत्री घोषणा हुनु गौरवको कुरा भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार,बालबालिका,विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुले विभिन्न सुझाव तथा प्रश्न राखेका थिए । जिल्लाकै रामेछाप नगरपालिका पनि बालमैत्री नगर घोषणाको अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार