रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो ।
तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा चल्नुपर्ने बताउनुभयो । निती र विधिमा चलेका सहकारीहरुमा खासै समस्या नरहेको भन्दै उहाँले संचालक तथा व्यवस्थापकहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । रामेछाप नगरपालिकामा ६९ वटा सहकारी संस्थाहरु रहेको भन्दै उहाँले निस्कृय रुपमा रहेका सहकारीहरुलाई पूर्ण रुपमा खारेज गर्नुपर्ने बताउनुभयो ।
रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा नगरका ४० वटा सहकारीका संचालक तथा पदाधिकारीहरुको उपस्थिती रहेको छ । नगरपालिकामा रहेका सहकारीहरुलाई व्यवस्थित ढंगबाट संचालन गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो । यो तालिम २ दिनसम्म चल्नेछ । यहि जेठ ६ र ७ गते सहकारीका कर्मचारीहरुलाई पनि क्षमता विकास तालिम दिइने नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो ।