रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज सम्मानित भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डा भद्रकालीले रेडियोलाई नगद सहित कदर पत्रले सम्मानित गरेको हो ।
विगत लामो समयदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरी नागरीक–सैनिक सम्बन्ध विस्तारमा रेडियोले पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै भविष्यमा समेत निरन्तर सहकार्यको अपेक्षासहित सम्मान गरेको हो ।
मधेश प्रदेशको महोत्तरी स्थित बर्दिबासको मध्यपूर्वि पृतना हेडक्वार्टरमा आयोजित रक्षा संवाददाता तालिम समापन समारोहको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो । मध्य पूर्वी पृतना हेडक्वार्टरका सहायक रथी भूवन खत्रीले हजुरको रेडियोका समाचार प्रमुख राजन महतारा क्षेत्रीलाई उक्त सम्मान पत्र प्रदान गर्नुभयो ।
नेपाली सेनाको गतिविधि समेटिएको नेपाली सेनाद्धारा उत्पादित रेडियो कार्यक्रम नेपाली सैनिक हरेक सोमवार साझ हजुरको रेडियो १०२.१ मेगाहर्ज लगाएत रेडियोको अन्य अनलाइन माध्यमबाट प्रशारण हुदै आइरहेको छ ।
रेडियोले श्रोता लक्षित सुचना, समाचार र कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको छ । नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने हजुरको रेडियो सहित चार वटा रेडियो सम्मानित भएका हुन ।