रामेछापमा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान भएका छन । दिनमा सयौँ पटक बिजुली झ्याप्प झ्याप्प जाने समस्याले विद्युतिय सामाग्रीहरु बिग्रन थालेका छन ।
बिजुली छिनमा आउने छिनमा जाने समस्याले कम्युटर लगायत विद्युतिय सामानहरुमा समस्या देखिन थालेको हजुरको रेडियोका प्राविधिक श्रीराज महतले बताउनुभयो । बिजुली आपूर्ति अनियमित हुँदा ब्याकअपमा समेत समस्या देखिएको कारण रेडियोको नियमित प्रसारण समेत बेला बेला अबरुद्ध हुने गरेको उहाँले बताउनुभयो ।
विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा रामेछाप अस्पतालमा बिजुलीबाट चल्ने उपकरणहरु संचालनमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । बिजुली गइरहने समस्याले अक्सिजन प्लान्ट,एक्सरे मेसिन,ईसिजी मेसिन जस्ता ठुला उपकरणहरु संचालन गर्न समस्या भएको उहाँले बताउनुभयो ।
सदरमुकाम मन्थलीमा साँझमा झलमल्ल बिजुली बलेको देखिने तर रामेछाप बजार आसपासमा बिजुली झ्याप्प झ्याप्प जाने समस्याले दिक्क बनाएको रामेछाप नगरपालिका ७ का नविन मगरले बताउनुभयो । सदरमुकाममा बिजुली बल्दा हाम्रो ठाउँमा किन बल्दैन भन्दै उहाँले रामेछाप विद्युत प्राधिकरणसँग आक्रोश पोख्नुभयो ।
अहिलेको समयमा हुरी बतास धेरै चल्ने भएका कारण रामेछापमा बिजुली आपूर्ति अनियमित भएको नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ । हुरी बतास तथा वर्षाको समयमा विद्युत अनियमित हुने भन्दै नेविप्रा रामेछाप वितरण केन्द्रले उपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा पनि मागेको छ । समस्या समाधानको लागि काम भइरहेको सो कार्यालयले जनाएको छ ।