रामेछाप मन्थलीका ६१ बालविकास शिक्षकलाई ‘इएलडीएस’ तालिम

रामेछाप मन्थलीका ६१ बालविकास शिक्षकलाई ‘इएलडीएस’ तालिम

बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य आधारशीला हुन् । बालबालिकालाई राष्ट्र निर्माणको बलियो आधार वा जगको रुपमा लिने गरिन्छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकासको आधारशीला मानिने बालबालिकाहरुको सर्वाङ्गीण विकास र शैक्षिक पूर्वतयारी गराउने लक्ष्यका साथ सेतो गुँरास राष्ट्रिय बालविकास सेवाले रामेछापको मन्थली नगरपालिकामा विभिन्न तालिम तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिहेको छ ।

सेतो गुँरासले हालसम्म मन्थली नगरपालिका भित्रका ६१ जना बालविकास केन्द्रका शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ ।

“प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको आठ दिने आवासीय तालिममा रामेछापको मन्थली नगरपालिकाको ६१ विद्यालयका ६१ जना बालविकास शिक्षक सहभागी थिए ।

तालिम लिन बाँकी विद्यालयका बालविकास शिक्षकहरुलाई आगामी महिनाको पहिलो साताबाट तालिम प्रदान गरिने बताइएको छ । गरिएको बालविकास शिक्षकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भिक सिकाई तथा विकास मापदण्डमा आधारित ८ दिने तालिम सञ्चालन गरिएको मन्थली नगरपालिकाको बालविकास संयोजक (छैठौँ अधिकृतस्तर) नवराज विश्वकर्माले बताउनुभयो ।

अहिले ३ वर्ष पूरा नभई बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी पुस्तक दिएर घाकाउने र लेखाउने प्रवृत्ति बढेको उल्लेख गर्दै संयोजक विश्वकर्माले त्यसले बालबालिकाहरुको कलिलो मस्तिष्कलाई प्रत्यक्ष असर गरिरहेको बताउनुभयो ।

अहिले बालविकास केन्द्रमा क, ख, र ए, बी, सी, डी मात्रै घोकाउने शिक्षण प्रवृत्ति रहेको र त्यसले बालबालिकाको सर्वाङ्गी विकासमा अवरोध पु¥याउने उहाँले बताउनुभयो । त्यसो भन्दैमा बालबालिकालाई क, ख, ए, बी, सी, डी, चाहिँ सिकाउँनै हुँदैन भन्ने चाहिँ नभएको र पाठ्यक्रमले तोकेका आधारभूत सिप सिकाइका क्षेत्र अन्तर्गतका ६ वटा सिप र विषयगत सिकाइ क्षेत्रका पाँच वटा सिप सिकाउँदा ती कुरा पनि बालबालिकामा अनुभव र धारणासहितको सिकाइ हुने उहाँले बताउनुभयो ।

शिशु स्याहार केन्द्र र बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको शारीरिक, मानसिक, भाषिक, सामाजिक र संवेगात्मक विकासका लागि इसिडी पाठ्यक्रमले तोकेअनुसारको क्रियाकलाप गराउन आवश्यक रहेको उहाँको भनाई छ । अहिलेसम्म नगर भित्रका विद्यालयहरुले इसिडी पाठ्यक्रमको प्रयोगमा नल्याएको उल्लेख गर्दै उहाँले आगामी शैक्षिक सत्रबाट इसिडी पाठ्यक्रमको पनि कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

मनोरोञ्जनात्मक वातावरणमा बालबालिकालाई शैक्षिक क्रियाकलाप गराई उनीहरुको सर्वाङ्गीण विकास गरी विद्यालय प्रवेशको पूर्वतयारी गराउने कुरामा यो तालिम केन्द्रित रहेको उहाँले बताउनुभयो । आगामी दिनमा प्रत्येक विद्यालयका बालविकास केन्द्रलाई पाठ्यक्रमको कार्यान्वयन गर्न निर्देश गरिने र कार्यान्वयमा गरे नगरेको बारेमा अनुगमन गरी कार्यान्वय गरेरै छाड्ने संयोजक विश्वकर्माले बताउनुयभो ।

यो तालिम गत चैत ७ देखि १४ गतेसम्म र चैत १६ देखि २३ गतेसम्म सञ्चालन भएको थियो । तालिममा इसिडी पाठ्यक्रमअनुसारका गतिविधि कसरी सञ्चालन गर्ने र पाठ्यक्रमको कार्यान्वयन कसरी गराउन सकिन्छ ? भन्नेबारेमा सिकाइएको थियो । अहिलेसम्म यस्तो तालिम नलिएको सुनाउँदै सहभागीहरुले यो स्तरको तालिम आफूहरुले पहिलो पटक लिएको बताएका थिए ।

तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको उनीहरुको भनाई थियो । यसअघि आफूहरुलाई इसिडी पाठ्यक्रमबारे कुनै जानकारी नभएको बताउँदै उनीहरुले आठ दिने आवासीय तालिमको क्रममा इसिडी पाठ्क्रम र पाठ्यक्रमअनुसारका क्रियाकलाप कसरी गर्ने ? भन्ने लगायतका बारेमा धेरै कुरा सिक्ने अवसर मिलेको सभागीहरुले बताए ।

सहभागीहरुले आगामी शैक्षिकसत्रबाट आफूहरुले सिकेका कुरा विद्यालयमा गएर बालबालिकालाई सिकाउने र इसिडी पाठ्यक्रमको अक्षरशः कार्यान्वय गर्ने प्रतिबद्धता जनाएका छन् । प्रशिक्षकहरु झल कुमारी कार्की र दुर्गा सिवाकोटी हुनुहुन्थ्यो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा मन्थली नगरपालिकासँगको समन्वय र सहकार्य एवं चाइल्डएड नेटवर्क फाउण्डेशन र सेतो गुँरास राष्ट्रिय बालविकास सेवाको सहयोगमा सञ्चालित “इसिडी हार्मोनी विल्डिङ ब्राइट विगिनिङ इन सोलुखुम्बु र रामेछाप” परियोजनामार्फत सञ्चालन भएको कार्यक्रमको आयोजना भने सेतो गुँरास राष्ट्रिय बालविकास सेवा संस्थाले गरेको थियो । तालिम मन्थलीस्थित फ्रिडम रिसोर्टमा सञ्चालन गरिएको थियो ।

यसअघि नगर भित्रका ६७ वटै विद्यालयका वि.व्य.स. अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्र.अ. लगायतका २ सय जनालाई ‘प्रारम्भिक बालविकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम’ प्रदान गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार