केहिदिनदेखी बढेको वायु प्रदूषणका कारण रामेछाप अस्पतालमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित बिरामी बढेका छन । अस्पतालमा दैनिक एक सय बढी बिरामी उपचारका लागि आउने गरेका छन ।
ति मध्ये २० देखी २५ जना बिरामी श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएर आउने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा वेड भर्ना भएका बिरामीहरुमध्ये अधिकांश दम र निमोनियाका बिरामीहरु रहेका छन ।
दमका २० देखी २५ जना बिरामीलाई अक्सिजन लगाएरै राख्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि धेरै बिरामी उपचारका लागि आउने गरेको छन ।
उनीहरूमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने,खोकी लाग्ने,छालामा एलर्जी हुने,आँखा पिरो हुने, चिलाउने र पोल्ने लगायत समस्या देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदुषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।