रामेछापको रामेछाप नगरपालिका ५ रामपुरको बसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले बुधबार राहत वितरण गरेका छन् ।
नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बालकुमारी कार्की थापा सहित रेडक्रसका प्रतिनिधिहरुले रामपुर पुगेर घरबार विहिन हुन पुगेका पविारलाई त्रिपाल, खाद्यान्न र अन्य सामाग्री वितरण गरेका हुन् ।
मंगलबार स्थानीय जंगलबाट सल्केको डढेलोले रामेछाप ५ का कमाने रानामगर, गुणराज सुनुवार र गोपालवहादुर सुनुवारको २ घर र ५ वटा गोठ जलेका थिए । गत वर्ष आगलागीबाट रामेछापमा ठुलो क्षति भएको थियो ।
यस वर्ष पनि आगालागीको घटनाहरु बढ्न थालेका छन । आगलागीले हरेक वर्ष जन,धन र वनस्पतीको क्षति गरिरहेको भएपनि पूर्व तयारी र नियन्त्रणमा खासै काम हुन सकेको छैन । स्थानिय तह र डिभिजन वन कार्यालयले आगलागी नियन्त्रण र पूर्व तयारीमा कामै गर्न नसकेको जन गुनासो छ ।