वनमा आगो लगाएको आरोपमा रामेछाप दोरम्बाका दाजु–भाइ पक्राउ

वनमा आगो लगाएको आरोपमा रामेछाप दोरम्बाका दाजु–भाइ पक्राउ

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो ।

सामुदायिक वनको जङ्गलमा आगो लगाई भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा शनिबार उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

सो जङ्गलमा शुक्रबार टोकरपुरको छाङखोलाको छेउबाट आगो लागेको थियो । आगो अहिले शैलुङको जङ्गलमा फैलिएको छ । आगोले शैलुङको वन क्षेत्रमा ठुलो क्षति भएको छ ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लाकै गोलकुलगंग गाउँपालिका ४ बेतालिको जंगलमा लागेको आगो भने आईतबार दिउँसो नियन्त्रणमा आएको छ । रामेछापमा हरेक वर्ष आगलागीले ठुलो क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार