वैदेशिक रोजगार र सहरीकरणले रित्तिँदै गाउँ

वैदेशिक रोजगार र सहरीकरणले रित्तिँदै गाउँ

सुन्दर बगैंचा पनि गोडमेल हुन सकेन भने कुरुप र निरर्थक देखिन्छ । अहिले हाम्रा गाउँ बस्तीहरू त्यही अवस्थामा पुगेका छन् । ४० वर्षअघि गाउँमा जुन रौनक थियो, अहिले ती सबै कथाजस्तै लाग्छ । जतासुकै हरियाली, मौसम अनुसारका खेती, मिजासिला छिमेकी र आफन्तका कारण गाउँको महत्व नै बेग्लै थियो ।

अहिले ती गाउँ, गाउँ जस्ता रहेनन् । एकपछि अर्को घरका ढोका बन्द हुँदै गइरहेका छन् । भइरहेका घर पनि स्याहार गर्ने मान्छे नभएर भत्किएर खण्डहर र सुनसान छन् । एक समय थियो, जति बेला गाउँहरू विभिन्न सांस्कृतिक पहिचान, उदार व्यवहार,परम्पराको र भातृत्वको सङ्गम जस्तो थियो । खेती गर्दा अर्म–पर्मको चलन थियो । एक–आपसमा सहयोगी भावनाहरूबाट खेती किसानी हुन्थ्यो ।

छिमेकी जेष्ठ नागरिकहरु एकअर्काको घर आउजाउ गर्थे, मेला–पर्वमा आमाहरुलाई कामको चटारो भएपनि रमाइलै मान्थे । गाउँले युवायुवती रातभर रोदीमा रम्थे । रात भरी जुहारी खेलेर रमाइलो गर्थे, दिदीबहिनीहरु घाँस काट्न जाँदा सुमधुर गीतहरूले पाखा गुञ्जायमान हुन्थ्यो । चाडबाडहरूमा बाटोघाटो बनाउने, सरसफाइ जस्ता काम सामूहिकरुपमा गरिन्थ्यो । ती संस्कृतिका बहुआयाम थिए । विनिमयको साधन नै अन्नबाली जस्तो थियो । जग्गा जमिनको महत्व बेग्लै थियो ।

कृषि नै सबैको मूल पेसा थियो । आ–आफ्ना परिवारलाई वर्षभरि अघाउने गरी खान पुग्ने अन्नबालीहरू उत्पादन गरिन्थ्यो । विनिमयको मुख्य साधन नै अन्नबाली भएपछि पैसा भन्दा अन्नबालीको महत्व हुने गथ्र्यो । गाउँलेहरू काममा विश्वास गर्थे । महिनाभर काम गरेर वर्षभर खानपुग्ने अन्न उब्जाउनु पौरखको कुरा थियो ।

गाउँ र बसाइसराइँ

जब गाउँका मानिस रोजगारी, शिक्षा र सुविधाको खोजीमा बसाइँ सराइ र सहर केन्द्रित हुन थाले सहर आर्थिक उन्नतिको आधार रहेछ भन्ने बुझ्न थाले गाउँबाट छाड्ने सुरुवात त्यहीँ बाट भयो ।

जब गाउँका मानिसहरूले राजधानी काठमाडौं र मुख्य सहरहरूलाई केन्द्र देख्न थाले, रोजगारीको अवसर, सुख र सुविधा रोजीरोटी र सुखभोगको महत्वाकांक्षा बढ्दै गयो । देशभरिका गाउँले सहर केन्द्रित हुन थाल्यो । २०४८ सालसम्म आइपुग्दा गाउँनै सहर पस्यो । रोजगारी, शिक्षा र सुविधाको लागि गाउँबाट सहर बसाई सर्ने लहर थामिनसक्नु भयो ।

राजधानी नजिक पर्ने जिल्लाका गाउँबाट काठमाडौंमै केही गर्ने सोंच बनाएर काठमाडौं आउन थाले । अलिक दूर्गमभेगका मानिस लाहुरे हुने लोभमा भारततिर गए । जब २०४६ सालमा राजनीतिक परिवर्तन भयो, त्यो परिवर्तनको साथै नयाँ विकास निर्माणहरू अझ बढ्न थाल्यो, यातायातका साधनहरू बढ्न थाल्यो, पुलहरू निर्माण भयो बाटोहरूको नयाँ निर्माण सँगै जसले भौगोलिक हिसाबले गाउँ र सहरको दुरी घटायो ।

त्यसले सहरतिर बसाइँसराइ र पलायन हुने सेतुको काम ग¥यो । त्यो राजनीतिक परिवर्तनले ल्याएको खुला उदारनीतिले झन् गाउँबाट सहर आउने र सहरमै बस्ने क्रम झाँङ्गिदै गयो । अधिकांशले परिवार सहित स्थायी रूपमै सहरतिर बस्न थाले। धेरैले सुःख दुःख गरेर काठमाडौं मै घर किन्न सक्ने,घर बनाउन सक्ने हैसियत बनाए,उतै बसाइँ सर्न थाले । गाउँबाट पलायन हुने त छँदैथिए । जसै वैदेशिक रोजगारको बाटो खुल्यो, गाउँघरमा रहेका बलिया युवा विदेशिन थाले ।

थपियोे समस्या

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या दिन दुगुना रात चौगुना हुन थाल्यो । विदेश पलायन तीव्र हुँदै जानू र युवाहरूलाई देशमै रोजगारी सिर्जना गरेर रोक्न नसक्नु सरकारको अक्षमता त हुँदै हो । रोजगारी सृजना गर्ने दायित्व समुदाय र परिवारको पनि हो । मुख्य श्रम शक्ति पलायन भएपछि तत्कालका लगि रेमिट्यान्सले देशको अर्थतन्त्र बलियो देखाएको होला । कालन्तरमा देशको अर्थतन्त्र नै ओह्रालो लाग्छ । वैदेशिक रोजगारीको सिलसिलामा ५० को दशक देखि ८० को दशकको ३० वर्षमा ६८ लाख भन्दा बढी युवा विदेश पलायन भएको सरकारी तथ्याङ्कहरूले नै बताउँदै आएको छ ।

वैदेशिक रोजगार विभाग कै अनुसार सुरुवाती चरण २०५०/५१ साल देखि अहिलेको चालू आर्थिक वर्षको मङ्सिर मसान्त सम्ममा ६८ लाख युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देश गएका छन् । त्यो बाहेक अध्ययनको सिलसिला र भिजिट भिषा मार्फत गएर उतै सेटल र अवैधानिक रूपमा काम गरिरहेका पनि थुप्रै युवाहरू रहेको जानकारहरू बताउँछन् ।

तथ्यांकमा के छ ?

भिजिट भिषा मार्फत् गएर अवैधानिक रूपमा काम गरिरहेकाहरू पक्राउ परेर नेपाल फर्काइएका समाचार दिनहूँ प्रकाशित भइरहेका छन् । रोजगारीको सिलसिलामा नेपालबाट मलेसिया, दुबई, कतार, कुवेत, लगायतका खाडी मुलुक जानेको संख्या धेरै छ । केही युवा ठूलो धनराशि खर्च गरेर युरोपेली मुलुक जाने र मौका मिले उतै बस्ने मानसिकता बोकेर पलायन भइरहेको पाइन्छ । वैदेशिक विभागका अनुसार, ६८ लाख नेपाली युवा विदेशमा छन् । यसमा भारत जानेको संख्या जोडिएको छैन ।

भारतमा मात्रै १५ लाख देखि १७ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको सरकारी अनुमान छ । यो सामान्य आकलन मात्रै हो । यसैबीच पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरू मध्ये १४ हजार भन्दा बढीको मृत्यु भएको र उत्तिकै संख्यामा अङ्भंग भएर नेपाल फर्केका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार, आर्थिक वर्ष २०६५ / ६६ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा चौध हजार दुई सय तेह्र जनाले काम गर्ने सिलसिलामा मै मृत्युवरण गरेको तथ्यांक अभिलेखमा रहेको छ ।

पछिल्लो यो एक दशकमा विदेशमा १० हजारभन्दा बढी श्रमिकको मृत्यु भइसकेको छ । जिफन्टले निकालेको तथ्याङ्क अनुसार, २०७१/७२ देखि २०८१/८२ सम्म वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ४७ नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

विदेश पलायन हुने फरक फरक जिल्लाहरूबाट फरक फरक सङ्ख्यामा हुने भई हाले पनि बिशेषत उत्तिकै मात्रामा समान्तर ढङ्गबाट पलायन हुनेक्रम भने रोकिएको छैन। बितेको एक वर्षमा तराईका जिल्लाबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् भने हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् । वैदेशिक रोजगार विभागको अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा पहिलो जिल्लामा छ भने झापा दोस्रो जिल्लामा रहेको छ ।

वैदेशिक रोजगारीमा तराइ अगाडि

आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लाहरूमा मोरङ्ग, सिरहा, महोत्तरी, सुनसरी, रुपन्देही र सप्तरीेका छन्। विभागका अनुसार, मोरङमा ३१ हजार ९७ सिराहामा ३० हजार ९३० महोत्तरीमा २७ हजार ३५० सुनसरीमा २३ हजार ९४९ रुपन्देहीमा २३ हजार ६०६ सर्लाहीमा २१ हजार २४३ सप्तरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् । यी जिल्लाहरूबाट रोजगारीका लागि सबैभन्दा धेरै युएई,साउदी,र मलेसिया गएका छन् ।

हिमाली भेगका कम

त्यस्तै वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लाहरूमा हिमाली जिल्लाका छन् । जस अनुसार मनाङबाट १७९ मुस्ताङबाट २५९ मुगुबाट ५३७ हुम्लाबाट ५६१ डोल्पाबाट ५१२ वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा छ । यो नयाँ र पुरानो श्रम स्वीकृति लिने दुवैको संख्या हो ।

गत आर्थिक वर्ष ०८०/८१ मा सात लाख ४१ हजार नेपाली विदेश पलायन भएको कुरा तथ्याङ्कहरूले बताएको छ । रामेछापको तथ्याङ्क हेर्दा बितेको यो पाँच वर्षमा श्रम स्वीकृति लिएर २५ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । सुरक्षित आप्रवास परियोजना (सामी)रामेछापका अनुसार विगत पाँच वर्षको अवधिमा पच्चीस हजार चार सय दस जना युवाहरू वैदेशिक रोजगारीमा गएका हुन्। यो जिल्लामा वैदेशिक रोजगारी जानेहरूमा महिला भन्दा पुरुषको संख्या बढी पाइएको छ ।

२० हजार दुई सय ६८ जना पुरुष विदेश गएकोमा ५ हजार १ सय ४२ महिला वैदेशिक रोजगारीमा गएका छन् । रामेछापमा जनसंख्या वृद्धिदर भने कम छ । २०६८ को जनगणना अनुसार, २ लाख २६ हजार आठ सय छयालीस जनसङ्ख्या रहेकोमा २०७८ को जनगणनामा घटेर एक लाख सत्तरी हजार छ सय बीस मा झरेको छ । यहाँको जनसङ्ख्या घट्नुमा बसाइसराइ पनि एउटा कारण चाहिँ हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार, रामेछापमा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको देखाएको छ ।

रामेछापमा पुरुषको जनसङ्ख्या असी हजार सात सय अठहत्तर र महिलाको जनसङ्ख्या ८९ हजार आठ सय बयालिस रहेको छ । त्यसैगरि रामेछापका आठ वटै स्थानीय तहको जनसंख्या सार्वजनिक भएको थियो । जसमा आठ वटा स्थानीय तह मध्य सबैभन्दा बढी जनसङ्ख्या मन्थली नगरपालिका र सबैभन्दा कम जनसंख्या सुनापति गाउँपालिकामा छ । नेपालमा खेतीयोग्य जमिन मध्ये करिब पच्चीस प्रतिशत जग्गा बाँझो रहेको कृषि मन्त्रालयको निष्कर्ष छ ।

यो प्रतिशत युवाहरूको पलायनता सँगसँगै झन् बढिरहेको छ । मन्त्रालयकै अनुसार, नेपालको कुल खेतीयोग्य जमिन एकचालीस लाख एक्काइस हजार हेक्टर रहेको मध्ये हाल तीस लाख एकानब्बे हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती भएको देखाउँछ । बाँकी दस लाख तीस हेक्टर जमिन अझै बाँझो रहेको मन्त्रालय भनाइ छ । आगामी दिनहरूमा युवाहरूको विदेश पलायन र विदेश मोह सँगै जमिन बाँझो हुने क्षेत्र पनि व्यापक रूपमा बढ्दै जाने नै छ ।

छोराजति वैदेशिक रोजगारका लागि खाडी मूलुकतिर, बुहारीहरू केटाकेटी पढाउन शहरतिर छन् । गाउँतिरका विद्यालय हेर्नु भयो भने ठूला–ठूला विद्यालयका भवनहरू निर्माण भएका छन् पढ्ने बालबलिका भने १०,१५जना पाइन्छन् । विद्यार्थीको संख्या नै कम भएकाले विद्यालयहरू बन्द हुने स्थितिमा छन् । अर्कोतर्फ पानी कम परेपछि पानीका मुहानहरू सुक्दै जाने क्रम बढिरहेको छ,जसले खेतीयोग्य जमिन सुख्खा क्षेत्रमा परिणत भएका छन्।

परम्परागत कृषिका लागि राज्यले न कुनै वैकल्पिक मार्गको आधार र योजना नै दिन सकेको छ,न प्रणालीहरूको विकास नै गरेको छ । भइरहेको हाम्रो मौजुदा युवाहरूका लागि पनि हाललाई विकल्पको रूपमा उपलब्ध भनेको नै खाडीको देशमा ५० डिग्री सेल्सियसको तातोमा श्रम गर्नु नै हो । हाम्रा युवामा किन वैदेशिक रोजगार मात्र राम्रो हो भन्ने मानसिकताको विकास भइरहेको छ ? किन हामी हाम्रै देशमा श्रम गर्न तयार छैनौँ ? गाउँको कृषि पेसा कठिन,समयको धैर्यता,र मिहिनेत धेरै गर्नु पर्ने र थोरै आम्दानीसँगै मौसममा निर्भर रहनु पर्ने हुँदा पनि यसको आकर्षण गाउँका युवाहरूमा घटेको हो ।

निष्कर्ष

उत्पादन वृद्धिको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नै मानव ऊर्जा र मानव सृजनशीलता नै हो । राज्यले समुचित सम्बोधन र कृषि पेसा सम्मानजनक पेसा हो भन्ने बुझाउन सक्नु्पर्छ । जसले गाउँका युवाहरूमा कृषि पेसामा आकर्षण बढाओस् । प्लस टु सकेका हरेक विद्यार्थीलाई स्थानीय तहमै स्वरोजगार बनाउन सीपमुलक तालिमका साथैको आयआर्जनको व्यवस्था मिलाउन सकेमा मात्रै विदेशिनेक्रम कम गराउन सकिन्छ । यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारबीच युवाका लागि रोजगारीका कार्यक्रम ल्याउन समन्वयन हुनुपर्दछ । यसैबाट गाउँको सभ्यता,परम्परा,संस्कृति र मौलिकता पुर्नस्थापित गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार