रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ १६ गतेदेखि शुरु भएको ‘रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी, २०८१’ प्रायः सुनसान देखिन्छ । महोत्सव शुरु हुने केही दिनअघि मात्रै पत्रकार सम्मेलन गरी यस वर्षको महोत्सवमा ५० हजार दर्शक भित्र्याउने उद्धघोष गरेको रामेछाप उद्योग वाणिज्य संघको आँकलन अहिले अपेक्षित दर्शकको उपस्थिति नहुँदा निरर्थक बन्ने निश्चित देखिन्छ ।
माघ १६ देखि शुरु भएको यो महोत्सव २६ गतेसम्म चल्ने महोत्वसमा सदरमुकाम मन्थली बजार आसपास बाहेक अन्य क्षेत्रका स्थानीय नागरिकहरुको उपस्थिति देखिँदैन । सदरमुकाम मन्थलीमा आन्तरिक तथा बाह्य दर्शक भित्र्याएर आर्थिक गतिविधि चलायमान गराउने उद्देश्यका साथ संघले सञ्चालन गरेको महोत्वसले राम्रो व्यापार गर्न नसक्दा .लगानी समेत खेर जाने निश्चित भएको छ ।
विगत वर्षहरुको अनुभवबाट सिकेका कुराहरुलाई ध्यानमा राखेर यो वर्षको महोत्सव नयाँ ढंगले अघि बढाउने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरले बताएका थिए । तर महोत्सवले राम्रो व्यापार गर्न नसक्नु र स्टलहरु समेत खाली रहनुले संघको पूर्वतयारी राम्रो भएको नदेखिएको स्थानीयले बताएका छन् ।
भाडामा लगाउन निर्माण गरिएका २४ वटा स्टल खाली छन् । नीजि लगानीमा आधा दर्जन भन्दा बढी स्टलहरु भाडामा लागेका छैनन् । उद्योग वाणिज्य कार्यालय रामेछाप र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयले भाडा तिरेर आफ्नो मातहतका समुहलाई करिब २० वटा स्टलहरु व्यापार गर्न दिएको छ ।
स्थानीय तहको सहयोगमा निःशुल्क स्टल उपलब्ध गराएको संघले स्टलमा बस्ने एक जनालाई बिहान, बेलुका खानाको व्यवस्था गरेको छ भने कृषि उपज ल्याउनेलाई ५ सय रुपैयाँ भत्ता समेत दिनेछ । संघको प्रारम्भिक जानकारीअनुसार महोत्सवमा करिब २५ देखि ३० लाख रुपैयाँ लगानी हुनेछ । तर महोत्सवले आशातित व्यापार गर्न नसक्दा र दर्शक तान्न नसक्दा लगानी डुब्ने निश्चित जस्तै भएको छ ।
व्यापार नहुँदा व्यापारीहरु चिन्तित
महोत्सवले दर्शक तान्न नसकेपछि व्यापार नहुँदा व्यापारीहरु चिन्तित भएका छन् । महोत्सवमा स्टल भाडामा लिएर कपडा व्यवसाय गरिरहेकी मन्थली नगरपालिका वडा नं. १ बसपार्ककी सरस्वती शर्माले महोत्सवले दर्शक तान्न नसक्दा व्यापार पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हप्ता दिन भयो १०/१२ हजार रुपैयाँ भन्दा बढी व्यापार हुन सकेको छैन । सबै स्टल खाली छन् । भाडा तिर्ने पैसा पनि नउठ्ने भयो ।’
यस्तै, रुपाकोट मौरी पालन कृषि समुहका केडी श्रेष्ठले पनि महोत्सवमा मान्छे नहुँदा राम्रो व्यापार नभएको बताउनुभयो । महोत्सवमा व्यापार गर्न आउनुभएकी शैलुङ किवी फर्मकी सञ्चालक कान्छी लामाले पनि व्यापार नभएको र घरको काम छाडेर आउनु मात्रै पर्यो भन्दै पश्चाताप व्यक्त गर्नुभ्यो । बिक्री गर्न ल्याएको सबै किवी घामले सुकिसकेको भन्दै उहाँले बिक्री नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सबै किवी घाममा डडिसक्यो, व्यापार छैन । अमिलो भइसक्यो । के गर्नु घरको काम छोडेर आइयो ।’