रामेछाप नगरपालिकाको आयोजनामा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम आज रामेछाप नगरपालिकामा सम्पन्न भएको छ । तालिममा रामेछाप नगरपालिका भित्रका माध्यमिक तहका हरेक विद्यालयबाट २ जना किशोरी, नगरबाल सञ्जाल, वडा बाल सञ्जाल, विद्यालय नर्स र एकजना शिक्षकलाई आत्मरक्षा सम्बन्धी तालिम दिईएको छ ।
तालिममा सहभागि भएपछि धेरै सिप सिकेको र सिकेको सिप तालिमहलमै नछोडी व्यवहारमा लागु गर्ने विद्यालयमा गएर साथीहरुलाई पनि सिकाउने तालिमका सहभागि किशोरी निकिता नेपालीले बताउनुभयो । त्यस्तै तालिमका सहभागि शिक्षक देवी दाहालले सैद्धान्तिक र प्रयोगात्मक ढङ्गले सिकाएकोमा खुशी व्यक्त गर्नुभयो । साथै आगामि दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्की थापाले समस्या परेपछि मात्र आत्मरक्षा गर्ने गर्ने भन्दा पनि सुरुमै आफूसँग कुन नियतले व्यवहार गरिरहेको छ ? त्यो बुझ्ने र त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो । सुरुमा बुझेर प्रतिकार गर्ने प्रतिकार गर्दा पनि समस्या समाधान नभएमा उजुरी गर्ने, विद्यालयका शिक्षकलाई घरमा अभिभावकलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेले आफुमा सकारात्मक सोच राख्नुपर्ने, आफु बदलिने र अरुलाई बदल्नुपर्ने बताउनुभयो । कसैले फकाउन, प्रलोभन देखाउन र डर, धम्की, त्रास देखाउन पनि सक्ने भएकाले यस्तो अवस्थामा सहजीकरण गर्ने, निराकरण गर्ने र कसरी आत्मरक्षा गर्ने भन्ने विषयमा अव सक्षम भएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रशिक्षक पार्वती कडेरियाले तालिमको प्रशिक्षण दिनुभएको थियो भने तालिमको सहजीकरण रामेछाप नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख विमला शर्माले गर्नुभएको थियो ।