माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु

माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या÷सेल्र्हेस पनि भनिन्छ । नेपालको हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, बिभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजिकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ ।

यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि रहेको छ । धार्मिक दृष्टिले मात्र नभई, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्त्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ ।

माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।

माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ ।

अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।

यस दिनको धार्मीक र पौराणीक मान्यताका बारेमा चर्चा गरौ, महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो, रणभुमीमा अर्जुनका धनुष वाणहरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्युको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । आनन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि ’निसराउ’ अर्थात उपहारहरु दिएर पठाउने चलन छ ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

तिहारमा सेलरोटी, दशैंमा मासु भनेजस्तै माघे संक्रान्तिका लागि पनि विशेष खानेकुरा छन् । खासगरी यतिबेला तरुल खाइन्छ । तरुल अर्थात कन्दमुल, जो जमिनमुनीबाट निकालिन्छ । तरुल लहरामुनी फल्ने फल हो ।तरुल पुस–माघमा उत्पादन हुने गर्छ । यतिबेला शरीरलाई आवश्यक पोषण यही तरुलले पूर्ति गर्छ । त्यसो त प्राकृतिले हामीलाई समय अनुकुल उचित किसिमको खानेकुरा पनि दिएको छ । जस्तो कि, जाडो याममा तरुल ।

हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । अर्थात्, यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ति माघे संक्रान्तिको विशेष परिकार बन्छ ।

त्यसो त माघे संक्रान्तिको दिन चाकु, सख्खरबाट बनाइने परिकारलाई पनि प्राथमिकता दिइन्छ । वास्तवमा यी सबै हाम्रो शरीरले मौसमअनुकुल माग गर्ने खाद्य पदार्थ हुन् । माघे संक्रान्तिलाई विशेष दिन बनाएर यी खाद्य पदार्थको महत्व दर्शाएको हो ।यद्यपी, एक दिन मात्र तरुल खाएर पुग्दैन । वास्तवमा जाडो महिनाभर वा जतिबेलासम्म उपलब्ध हुन्छ, हाम्रो खानामा यसलाई सामेल गर्नुपर्छ ।

माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।

त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।
त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।

तिल आफैमा नजम्ने अनस्याचुरेटेड फैटी एसिड हो । यसले पाचन प्रकृयालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकोले यसले रोगसित लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन ।

तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्धारद्धारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ ।

तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।

डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार