बजेट अभावमा गत असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएको विपी राजमार्ग पुननिर्माण सुरु हुन सकेको छैन । १ सय ५८ किलोमिटर मध्ये १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ ।
यसको पुननिर्माणका लागि कम्तीमा पनि ९ अर्ब ६६ करोड लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । क्षतिग्रस्त सडक निर्माणका लागि २ देखि ३ वर्ष लाग्ने सडक विभागको भनाइ छ । अहिले दिनानुदिन भइरहेको यात्रा सुरक्षित गर्न आवश्यक पूर्वाधार निर्माण गर्न र स्थायी पुननिर्माणको काम सुरु गर्न अर्थ मन्त्रालयसँग बजेट माग गरेको विभागको मर्मत सम्भार शाखाका उपमहानिर्देशक सुपरिटेण्डेन्ट इन्जिनियर अर्जुनप्रसाद दाहालले जानकारी दिनुभयो ।
बाढीपहिरोले कतिपय स्थानमा सडक नै बगाएका कारण बगरबाट यातयात आवतजावत भइरहेको छ । यही अवस्थामा आगामी वर्षायाममा यो राजमार्गबाट यातयात सेवा सुचारु ग्र्न नसकिने सडक विभागले जनाएको छ । जापान सरकारले २० वर्ष लगाएर निर्माण गरेको यो सडक २०७१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।