रामेछापको रामेछाप नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । सोमबार (आज)बाट सुरु भएको तालिम नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक बाल कुमारी कार्कीको अध्यक्षतामा भएको हो ।
उक्त कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख कार्कीले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत उहाँले बताउनुभयो ।
गाउँमा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने उहाँले बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न,कार्यालय व्यवस्थापन गर्न नगरपालिकाले काम गरेको र थप सहयोगहरु चाहिए नगरले गर्ने बताउनुभयो ।
प्रशिक्षकहरूले सिकाएका कुरा व्यवहार मा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न उहाँले मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।
तालिममा न्यायिक समितिमा आउने समस्याहरू,वादविवाद,मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?,मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षक हिमाल ढुंगेलले प्रशिक्षण दिनुहुनेछ ।
तालिममा फिराद लेखन, प्रहरी , प्रशासन र अदालतको काम लगायत विषयमा पनि जानकारी गराईने नगरपालिकाका कानूनी सल्लाहकार लोकहरि दाहालले बताउनुभयो । यो तालिम ३ दिनसम्म संचालन हुने उहाँले जानकारी दिनुभयो ।