रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवद्यिमा जम्मा बजेटको १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा १२ करोड ३४ हजार ३ सय ३१ रुपैयाँ अर्थात १५.३८ प्रतिशत मात्रै रकम खर्च गरेको हो ।
सो कुरा मंगलबार(आज) रामेछाप नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत चापागाईले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैया बजेट रहेकोमा ११ करोड ३९ लाख ६९ हजार ६ सय ६५ रुपैया अर्थात २२.१८ प्रतिशत बजेट खर्च बताउनुभयो । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैया बजेट रहेकोमा ४८ लाख १२ हजार ३ सय ८५ अर्थात १.८८ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताउनुभयो । यो अवद्यिसम्म नगरपालिका तथा वडाले विभिन्न शिर्षकमा १ करोड १२ लाख १४ हजार राजश्व संकलन गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथी समेत रहनु जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्काले नगरपालिकाले एकिकृत घुम्ती शिविर सहित आयोजना गरिएको सर्वजनिक सुनुवाई कार्यक्रम निकै उत्कृष्ट रहेको बताउनुभयो । नगरपालिकाले आयोजना गर्ने हरेक कार्यक्रमहरु राम्रो रहेको उहाँले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र खानेपानी क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।
उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष हिमाल ढुंगेल ,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नगर अध्यक्ष मोति तामाङ्ग,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।
हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की ,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,वडाअध्यक्षहरु,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरीक लगायतको उपस्थिती रहेको थियो ।