रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा आइतबार(आज) दिउँसो भएको बोलेरो गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका ४ का वर्ष ६९ को दिलिप कुमार बरुवालको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले दिनुभएको जानकारी अनुसार गम्भीर घाइते बरुवालको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
सदरमुकाम मन्थलीबाट वडा नं ४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको थियो । गाडी दुर्घटनामा परी वडा नं ४ सालुका वडा सदस्य पदम माया नेपालीको घटना स्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते मन्थली नगरपालिका ४ का वर्ष ३४ की सिता नेपाली ,वर्ष २५ की सुजिता रसाइली र वर्ष २५ की सरिता नेपालीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते बोलेरो चालक वर्ष ४२ को गुण कुमार थापा मगरको छाउनी अस्पताल काठमाडौमा उपचार भैरहेको छ । गाडी दुर्घटनामा परेकी ५ महिने बालिका भने सकुशल रहेको बताइएको छ ।
मन्थली नगरपालिकाले दुर्घटनामा वडा सदस्यको मृत्यु भएको भन्दै सोमबार शोक बिदा दिएको छ । नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै शोक बिदा दिएको जनाएको छ ।