नेवारी संस्कृति संरक्षण गर्दै रामेछाप भंगेरीका नेवार समुदाय

नेवारी संस्कृति संरक्षण गर्दै रामेछाप भंगेरीका नेवार समुदाय

सदियौँ पुराना पर्व र परम्परालाई रामेछाप भंगेरीका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमादेखी सुरु भएको लाखे नाच विधिवत रुपमा श्रीकृष्ण जन्माष्टमीमा समापन गरिँदै आएको छ । ढोल र झ्याम्टाको आवाजको तालसँगै एक हप्ता नाचिने लाखेनाचले रामेछापवासीलाई आकर्षित गरिरहेको छ । ठुला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले रामेछापमा छुट्टै रौनकता ल्याउने गरेको छ ।

कृष्ण जन्माष्टमीको राति १२ बजे कृष्ण र कंसको नाच प्रदर्शनपछि कृष्णले धनुषवाणमार्फत कंसको वध गरेपछि लाखेनाचको समापन हुन्छ । दानवीबाट देवत्वमा परिणत भएको लाखेले बालबालिकाको रक्षा तथा महामारी, रोगव्याधि जस्ता सङ्कटबाट संरक्षण गर्ने दायित्व लिएको पौराणिक कथन रहिआएको छ । यही जनविश्वासका कारण लाखेनाच नेवारी समुदायको परम्परागत मौलिक संस्कृति नै बनेको छ ।

राक्षसको स्वरूप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिङ्गारेर लाखे नचाउने गरिन्छ । लाखेनाचसहित माझि नाच, लौरोनाच, नेवारी नृत्य समेत दर्शकले खुवै रुचिसाथ हेर्ने गरेका छन । रामेछाप भंगरीमा रहेका नेवार समुदायले हरेक वर्ष यो नाचलाई निरन्तरता दिँदै आएको छ । भंगेरीका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएका छन् । पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ ।

रामेछापको भंगेरी,मन्थली,चिसापानी,साँघुटार लगायत नेवार जातिको बसोबास रहेका ठाउँमा लाखे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवाहरुको भनाई छ । बसाइँसराइ, युवाको विदेश पलायन, आधुनिकताको प्रभाव, मौलिक संस्कृतिप्रतिको अरुचिजस्ता कारणले पुरानो कला र संस्कृति जोगाउने चुनौती भने नेवार समुदायमा पनि थपिएको छ । समाजमा प्रचलित संस्कृति र परम्परा नास भएर जाने हुन् कि भन्ने चिन्ता नेवार अगुवाहरुलाई छ । नयाँ पुस्तालाई संस्कृति संरक्षणको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्ने उनिहरु बताउँछन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार