शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै

शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै

रामेछापको रामेछाप नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी दस वर्षे शैक्षिक योजना निर्माण गर्ने भएको छ । नगरपालिकाले शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो ।

विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण हुने उहाँले बताउनुभयो । नगरपालिकाले बनाउन लागेको योजनामा ज्ञान, सीप अनुभवलाई आत्मसात् गर्दै वर्तमानमा भविष्यको आशाका लागि काम गर्न सघाउने उद्देश्य राखिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले बुधबार नगर शिक्षा योजना निर्माणको लागी प्रारम्भिक कार्यशाला तथा सुझाव संकलन कार्यक्रम गरेको छ । विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार,विद्यालयका प्रधानाध्यापक,शिक्षक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका सरोकारवालाहरुसँग सुझाव संकलन गरिएको हो । सरोकारवालाहरुबाट आएको सुझावलाई प्राथमिकतामा राखेर योजना निर्माण हुने नगरपालिकाले जनाएको छ ।

आगामी दस वर्षको अवधिमा नगरपालिकाको शिक्षा विकासका लागि मार्गचित्र तय गर्न मिश्रित अवधारणामा केन्द्रित रही योजना तयार पारिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बताउनुभयो ।

दस वर्षे शैक्षिक योजना निर्माण पश्चात नगरको शैक्षिक अवस्थामा सुधार आउने नगरपालिकाले विश्वास लिएको छ । नगरपालिकामा हालसम्म सामुदायिक ५४, संस्थागत २ सहित ५६ वटा विद्यालय संचालनमा रहेका छन । नगरपालिकामा साक्षरता दर ६८.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार