सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रामेछापका दुई जना पक्राउ परेका छन । काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामेछापका दुई सहित तीन जनालाई पक्राउ गरेको छ ।
सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सो सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको हो ।
पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क घर भई हाल काठमाडौँको चाबहिल बस्दै आएका ३७ वर्षीय महेश श्रेष्ठ र ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन । यसैगरी मोरङ घर भई काठमाडौँ बस्दै आएका ३२ वर्षका गोविन्द पुरी पनि पक्राउ परेका छन ।
पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका थिए । उनीहरुले आकर्षक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाए पनि बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरु ब्युरोमा पुगेका थिए ।
प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
सोमबार पक्राउ परेका उनीहरुमाथि मंगलबार सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
ब्युरोले सूचना जारी गरी उक्त सहकारीबाट ठगीमा परेका अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आएर हिनामिना भएको रकमसहित निवेदन दिन आग्रह गरेको छ । पछिल्लो समय सहकारीसंस्थाको रकम हिनामिना गर्ने व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन ।