शान्ति माया सुनुवारले पाइन् ७६ वर्षको उमेरमा नेपाली नागरिकता

शान्ति माया सुनुवारले पाइन् ७६ वर्षको उमेरमा नेपाली नागरिकता

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्ति माया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरीकता पाउनुभएको छ । २००५ सालमा जन्मनुभएकी सुनुवारले बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

साबिकको भुजी गाउँ विकास समितिको वडा नं ७ की सुनुवारले नागरिकताका लागि यस अघि पनि प्रयास गर्नुभएको थियो । तर सनाखतमा तिन पुस्ते कोही जिम्मेवारी नभएपछि सुनुवार ७६ वर्षसम्म नागरिकता विहीन हुनुहुन्थ्यो ।

यो विषयमा जानकारी भएपछि उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवार र कार्यपालिका सदस्य मनिता सुनुवारको पहलमा बिहीबार सुनुवारले जिल्ला प्रशासन कार्यालय रामेछापबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

शान्ति मायासँगै साबिक भुजी गाउँ विकास समितिका ३० वर्षका धनराज सुनुवारले पनि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उहाँले पनि तीन पुस्ते सनाखत नभएकै कारण नागरिकता पाउनुभएको थिएन ।

दुवै जनाको सनाखतमा वडा अध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार बसेपछि उहाँहरुले नागरिकता प्राप्त गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार