ईरामेछापमा प्रकाशित समाचारको प्रभावःवन निर्देशनालयले थाल्यो छानबिन

ईरामेछापमा प्रकाशित समाचारको प्रभावःवन निर्देशनालयले थाल्यो छानबिन

ईरामेछाप डटकम अनलाईन समाचार पोर्टल तथा विभिन्न छापा माध्यमबाट प्रकाशित ‘डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदारबीचको अवैध लेनदेन’का विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ ।

केही समयअघि डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाले घुस लेनदेन गरेर अवैध रुपमा खयरको कारोबार गरेका विषयलाई समेटेर ईरामेछाप अनलाईन सहित जिल्लाका केही आमसञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए । तिनै समाचारको प्रभाव बल्ल अहिले आएर देखिन थालेको हो ।

समाचारको प्रभावले अहिले वन निर्देशनालय हेटौँडाले घटनाबारे छानबिन थालेको छ । घटना छानबिनको लागि निर्देशनालयले वन अधिकृत नवौँ तहका कर्मचारी रामकुमार भण्डारी र वन अधिकृत आठौँ तहका कर्मचारी गोविन्द अर्याललाई पठाएको हो ।

घटना छानबिनको लागि रामेछाप आएको वन अधिकृत भण्डारीको टोली आइतबार दिउँसो सदरमुकाम मन्थलीस्थित गन्तव्य टुडेको कार्यालयमा आएर समाचारका विषयमा आएका सूचना र प्रमाण विवरणको बारेमा सोधपुछ गरेको थियो ।

समाचारमार्फत सार्वजनिक घटना र तथ्य बारेमा पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे सहितका केही पत्रकारसँग सोधपुछ गरेको थियो । सबै पत्रकारले समाचारको यथार्थता र घटनालाई पुष्टि गर्ने आफूसँग भएका तथ्य र प्रमाणहरुको बारेमा बताउँदै रेकर्ड सामाग्रीहरु समेत उपलब्ध गराएका थिए ।

त्यसपछि घटनाबारेमा पत्रकारहरुले देखाएको सक्रीयताको कदर गर्दै वन निर्देशनालय हेटौँडाका वन अधिकृत रामकुमार भण्डारीले समाचारकै कारणले आफूहरु घटनाको छानबिन गर्न आएको बताउनुभयो ।

उहाँले यो विषयमा कुनै उजुरी परेको नभई समाचारमा प्रकाशित विषय वस्तुको आधारमा नै छानबिन गर्नुपर्छ भनेर आफूहरु यहाँ आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘यो घटनाको विरुद्धमा हालसम्म कुनै पनि उजुरी परेको छैन, समाचारमा आएका विषयलाई नै आधार मानेर हामी छानबिनको लागि आएका हौँ, उता गाडी समातिनु यता समाचार आउनु, केही न केही गडबढी त हुनुपर्छ भनेर नै वन निर्देशनालयले पनि यो प्रक्रिया अघि बढाएको हो ।’

अहिले घटनाबारे अध्ययन भइरहेको उल्लेख गर्दै वन अधिकृत भण्डारीले डिभिजन वन कार्यालय रामेछापबाट आवश्यक केही कागजात लिइसकेको र केही कागजातहरु लिन बाँकी रहेको बताउनुभयो ।

खयरसँग जोडिएका सबै सरोकारवाला पक्षलाई भेटेर घटनाबारे अध्ययन गरिने उहाँले जानकारी गराउनुभयो । अध्ययनपछि प्राप्त तथ्य र आधारलाई समेटेर प्रतिवेदन तयार गरेपछि वन मन्त्रालयलाई पेश गरिने उहाँको भनाई थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार