पहिरोमा परि मृत्यु भएका परिवारलाई गोकुलगंगा गाउँपालिकाले सहयोग गर्ने

पहिरोमा परि मृत्यु भएका परिवारलाई गोकुलगंगा गाउँपालिकाले सहयोग गर्ने

रामेछापको गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका तीन जना किशोरीको परिवारलाई सहयोग गर्ने भएको छ ।

बिहीबार राति पहिरोमा परी मृत्यु भएका गोकुलगंगा–६ फर्पुका तीन किशोरीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका प्रवक्ता एव् वडा नम्बर ६ का अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष काजिबहादुर खड्का (दिनेश)को अध्यक्षतामा शनिबार बसेको गाउँकार्यपालिको बैठकले उक्त निर्णय गरेको हो । मृतकका परिवारलाई प्रति परिवार ५० हजार राहत र १५ हजार काज किरिया खर्च सहित ६५ हजार नगद सहयोग प्रदान गरिने प्रवक्ता सुनुवारले बताउनुभयो ।

गोकुलगंगा गाउँपालिका–६ फर्पुमा अविरल वर्षासँगै बिहिबार राती बिमान तामाङको घर माथिबाट झरेको पहिरोमा पुरिएर बिमानकी १८ वर्षीया छोरी सिता तामाङ, पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र बिमानको जेठा छोरा पदम तामाङकी छोरी लक्ष्मी तामाङको मृत्यु भएको थियो ।

बाढी पहिरोका कारण पालिकाभर भएको क्षति र सम्भावित क्षतिको बारेमा वडा र विपद् व्यवस्थापन समितिले स्थानीय प्रहरीसँगको सहयोगमा प्राविधिक विवरण तयार गरी त्यसको व्यवस्थापनमा लाग्ने गोकुलगंगा गाउँपालिकाले जनाएको छ ।

पहिरो पीडित परिवारलाई सहयोग गर्ने क्रम जारी

पहिरो पीडित परिवारलाई विभिन्न संघ÷ संस्थाहरुले समेत सहयोग गर्ने क्रम जारी छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट २ लाख ५० हजार,नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रति मृतक १०–१० हजारका दरले नगद रकम सहयोग गनुभयो ।

जिल्ला रेडक्रस सोसाइटीबाट लत्ता कपडा,भाँडावर्तन सहयोग गरिएको छ । त्यस्तै राष्ट्रिय युवा संघ नेपाल रामेछापले पनि खाद्यान्न सहयोग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार