ढाका उद्योगले बदलिएको राधाको जीवन

ढाका उद्योगले बदलिएको राधाको जीवन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ पालेवनमा एउटा सानो जस्ताको टहरामा ढाका उद्योग छ । सो उद्योग सोही ठाउँकी राधा बस्नेतले संचालन गरेको सगरमाथा ढाका उद्योग हो । राधाको एक्लो लगानीमा उनी आफु एक्लैले सो उद्योग संचालन गदै आएकी छिन । उमेरले ४१ वर्ष लागेकी राधा अविवाहित नै छिन । उनले ढाका उद्योग चलाएरै परिवार पालिरहेकी छन ।

उनि भन्छिन,‘मलाई विहे गर्न मन पनि भएन । बहिनीको ३ /४ वर्ष अघि नै बिहे भयो । हजुरबुबा हुनुहुन्थ्यो उहाँ पनि बित्नुभयो । अहिले घरमा आमा र म छौँ । बुबा हामी सानै हुँदा अर्कै बिहे गरेर घरजम गरेर बसे । हामीले सानोमा धेरै दुख पायौँ । तर अहिले हामीलाई यहि ढाका उद्योगले खान र लगाउन पुगेकै छ ।’

२०६० सालमा घरेलु कार्यालयबाट ढाका बुनाई तालिम लिएपछि उनले अहिलेसम यहि व्यवसायलाई आफ्नो मुख्य पेशा बनाउँदै आएकी छिन । उनले आधा दर्जन भन्दा बढी जिल्लाका २ सय भन्दा बढी महिलाहरुलाई यो सिप सिकाएकी छिन । उनि भन्छिन,‘रामेछाप सहित दोलखा,सोलुखुम्बु,काभ्रे,नुवाकोट,धादिङ्ग लगायतका जिल्लाका महिलाहरुलाई मैले यो सिप सिकाएको छु । मैले सिकाएका मध्ये कतिले यो व्यवसाय गर्दै आएका छन भन्ने कुरा चाहिँ मलाई जानकारी भएन । तर सिक्नेहरु चाहिँ धेरै हुनुहुन्थ्यो ’

राधाले ढाकाको रुमाल,पक्षउरी,सारी,कोट,टोपी,स्टकोट जस्ता सबै सामानहरु बनाउँछिन । उनले बनेँका सामाग्रीहरु विभिन्न मेला,महोत्सवहरु र कोशेली घरहरुमा प्रदर्शनमा राख्ने गरेको उनी बताउँछिन । २० वर्ष भन्दा बढी यहि पेशा गर्दै आएकी राधा आफनो पेशाप्रती सन्तुष्ट छिन । तालिमको प्रशिक्षक बनेर विभिन्न जिल्लाहरुमा पुगेर आफुले जानेको सिप सिकाउन पाउँदा उनि खुशी छिन ।

कुनै दिन आफुले सिकेको सिप आज अरुलाई पनि सिकाउन पाउँदा गौरव महसुस हुने गरेको उनले सुनाईन । उनि भन्छिन,‘सानो लगानीमा घरमै बसेर गर्न सकिने काम यहि हो । गृहिणी महिलाहरुको लागी यो व्यवसाय एकदमै उपयुक्त व्यवसाय हो ।’ काम चलेको बेला महिनामा ३० हजार भन्दा बढी कमाई हुने उनको भनाई छ । विगत केही वर्ष यता सचे जस्तो व्यापार नभएपनि निराश हुने अवस्था पनि नरहेको उनले सुनाईन । उनि भन्छिन,‘स्कुलमा पढ्ने भाई बहिनीहरुले आफ्नो र साथिहरुको नाम लेखेर रुमाल धेरै बनाउनुहुन्छ । अरु चिजभन्दा रुमाल अलि धेरै नै विक्रि हुने गरेको छ ।’

हिजोआज धेरै ठाउँमा ढाका उद्योग बन्द भएको खबरले राधालाई चिन्तित बनाएको छ । पहिला पहिला धेरै ठाउँबाट तालिम संचालन गर्नुपर्यो भनेर फोन आउने गरेको भएपनि आजभोली ढाका बुनाई तालिमहरु नै हुन छाडेको उनी बताउछिन । स्थानिय तहहरुले पछिल्लो समय ढाका उद्योगलाई प्रवद्र्धन गर्ने खालको कुनै पनि कार्यक्रम संचालन नगरको उनको दुखेसो छ । आफुले यो व्यवसाय संचालन गरेको यतिका समय भइसक्दा पनि नगरपालिका तथा वडाबाट कुनै पनि सहयोग नपाएको उनले बताइन । सरकारले स्थानिय उत्पादन र हस्तकलाको सामाग्रीहरुलाई प्रवर्दन गर्न नसकेकोमा राधालाई दुख लागेको छ । आधुनिक कपडाको चपेटामा ढाकाको कपडा परेको भएपनि ढाकाको कपडाको महत्व बेग्लै रहेको उनको भनाई छ ।

ढाकाको कपडा बुन्नका लागी प्रयोग हुने धागोको मूल्य केही वर्ष यता ह्वात्तै बढेको उनको भनाई छ । धागो काठमाण्डौँबाट महंगोमा ल्याउनुपर्ने बाध्यता रहेको उनले बताईन । उनि भन्छिन,‘धागो र तान खरिद गर्दा महंगो पर्छ । १० वर्ष अघि र अहिले तुलना गर्नुपर्दा यि सामाग्रीहरुको भाउ निकै बढेको छ ।’

उद्योगका लागी आवश्यक पर्ने कच्चा पदार्थ धागोको मुल्य बढेकाले पनि आफुले उत्पादन गर्ने सामाग्रीहरुको मुल्य केही बढ्न गएको राधा बताउँछिन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार