काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका

काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका

रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालबाहक ट्रक नियन्त्रण पछिको छानबिनमा काठ तस्करीको खुलासा भएको छ । रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार ट्रक अनुसन्धानको क्रममा खयर काठ तस्करीको खुलासा भएको हो ।

प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ति ट्रकबारे छानबिन थालिएपछि काठ तस्करीको विषय बाहिर आएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफीयत भेटिएको छ ।

धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताउनुभयो । छानबिनका क्रममा अवैध काठ धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताउनुभयो ।

सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनि छोडपुर्जी दिएको थियो । अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो । उक्त परिमाणका काठ ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याई पु¥याइएको प्रशासनले जनाएको छ ।

प्रशासनले उक्त काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ । सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालक सहितको हकमा कानून बमोजिमको कारबाही हुने जनाएको छ ।

काठ तस्करीको विषय सुक्ष्म रुपले छानबिन हुनसके वन पैदावार चोरी निकासीमा संलग्नहरु कानूनी दायरामा आउने जनाएको छ । स्रोतका अनुसार खयर काठ बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो । यद्यपि ति ट्रकबारे धरान पुगेपछि मात्रै प्रशासनलाई खबर दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार