रामेछापको गोठगाउँमा आयोजना सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थाल्यो

रामेछापको गोठगाउँमा आयोजना सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थाल्यो

रामेछापको रामेछाप रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँस्थित गोठपानीमा निर्माण भएको सडक स्तरोन्नति आयोजनाको काम सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थालेको छ ।

चालु आर्थिक वर्ष २०८०।८१ मा बाग्मती प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट रामेछाप नगरपालिकाको वडा नं. १ गोठपानीमा सडक स्तरोन्नतिको लागि विनियोति बजेटबाट निर्माण सम्पन्न भएको आयोजनाको महिना दिन नबित्दै मेसिनरी वाल भासिएर चर्किन र भत्किन थालेको हो ।

भ्याटसहित २१ लाख ७२ हजार ३३९ रुपैयाँ २५ पैसा बराबरको बजेट लागतमा आयोजना निर्माणको ठेक्का सम्झौता गरी तिल्पुङ भगवती कन्सट्रक्सन प्रा.लि.ले निर्माणको जिम्मा लिएको थियो । स्थानीयकाअनुसार अहिले आयोजनाको मेसिनरी वाल भासिएर धाजाधाजा फाटेर भत्किन थालेको छ । प्राविधिक र निर्माण व्यवसायीको मिलेमतोमा आयोजनाको गुणस्तरलाई ख्याल नगर्दा समस्या आएको हो ।

२०८० माघ ११ गतेदेखि सुरु भएको आयोजनाको काम सम्पन्न भएको महिना दिन पुग्न लागेको रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँका स्थानीय अतुल कार्कीले बताउनुभयो । प्राविधिक र निर्माण व्यवसायीको मिलेमतोमा कमसल माल मेटेरियल प्रयोग गरेर जग राम्रोसँग नखनी वाल लगाउँदा अहिले वाल चर्किएर भत्किन थालेको स्थानीय कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्राविधिक र निर्माण व्यवसायीको मिलेमतोमा कमसल माल हाले, जग पनि राम्रोसँग खनेन्, जसले गर्दा सबै चर्किएर भत्किन थालेको छ, अब केही दिन पानी पर्यो भने सबै भत्किने अवस्था छ । वडा अध्यक्षलाई जानकारी गराए, वडा अध्यक्षले पनि हामीले केही गर्न मिल्दैन माथिल्लो कार्यालयले हेर्ने हो, हामी कुरा चाहिँ गर्छौँ भने ।’

रामेछाप नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रेखबहादुर खत्रीले भने आयोजनाको काममा समस्या देखिएको बताउनुभयो ।

उहाँले अहिले आयोजनाको मेसिनरी वाल भासिएर चर्किएको बताउनु भएको हो । आयोजनाको दुरावस्थाबारे सम्बन्धित निकायलाई पत्रचार गर्न वडा सचिवलाई आफूले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

यसरी गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गराउने कुरामा समेत पहल गर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,‘आयोजनाको वाल अग्लो छ, तीन मिटर अग्लो होला, अहिले भासिएको छ ।

आयोजनाको अवस्थाको बारेमा माथिल्लो निकायमा जानकारी गराउन मैले सचिवलाई पत्र लेख्नु भनिसकेको छु । तिल्पुङको रामु श्रेष्ठले गरेको काम हो, त्यसलाई पनि भनेको छु ।’

यता आयोजनाको बारेमा थप बुझ्न सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुखलाई फोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।

यसरी आयोजनाको गुणस्तरलाई ख्याल नगरी काम गर्ने निर्माण व्यवसायी र अनुगमनमा खटिने कर्मचारीलाई राज्यले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत भर्नुपर्ने कानूनी व्यवस्था गर्न आवश्यक रहेको नागरिक समाजका अगुवाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार