९१ लाखको खुर्कोट–मन्थली–मिल्ती सडक आयोजनामा निर्माण कम्पनीको अटेरी र लापरबाहीः महिना दिन नपुग्दै भत्कियो कालोपत्रे

९१ लाखको खुर्कोट–मन्थली–मिल्ती सडक आयोजनामा निर्माण कम्पनीको अटेरी र लापरबाहीः महिना दिन नपुग्दै भत्कियो कालोपत्रे

निर्माण व्यवसायीको अटेरी र लापरबाहीको कारण रामेछापको सदरमुकाम खुर्कोट–मन्थली–मिल्ती सडक खण्ड कालोपत्रेको काम गुणस्तरहीन भएको पाइएको छ ।
गोलञ्जोर कन्सट्रक्सन प्रा.लि. सिन्धुलीले आफूखुसी सरकारी निकायको निर्देशनलाई समेत बेवास्ता गरेर प्राविधिक स्टिमेट विपरित काम गर्दा सडक कालोपत्रेको काम गुणस्तहीन भएको पाइएको हो ।

चालु आर्थिक वर्ष २०८०।०८१ मा संघीय सरकार अन्तर्गत सडक बोर्ड कार्यालयको स्वीकृत कार्यक्रमबाट खुर्कोट–मन्थली–मिल्ती सडक मर्मत तथा स्तरोन्नति आयोजनाको लागि भ्याट सहित ९१ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यस सडक आयोजना अन्तर्गत विभिन्न ठाउँमा गरी १७३ मिटर सडक कालोपत्रे सहित मर्मत तथा स्तरोन्नतिको ठेक्का गोलञ्जोर कन्सट्रक्सन प्रा.लि.ले पाएको थियो । अहिले उक्त सडक खण्डको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ ।

धमाधम काम गरिरहेको कम्पनीले लिखुतामाकोशी गाउँपालिका–६ तल्लो खिम्ती बजार र मन्थली बजारको देवकोटाचोक सडक कालोपत्रेको काम सम्पन्न गरिसकेको छ । सम्पन्न भएका ती सडक कालोपत्रेमा समस्या देखिएको छ । सडक कालोपत्रेको एक महिना नबित्दै उप्किन थालिसकेको छ । खिम्ती तल्लो बजार प्रहरी बिट नजिकै १० मिटरभन्दा बढी सडकको कालोपत्रे भत्किएको छ भने देवकोटाचोक क्षेत्रको सडक कालोपत्रे पनि भत्किसकेको छ । स्टिमेट अनुसार २ से.मि. प्रिमिक्स गर्नुपर्ने हुन्छ । तर स्टिमेट अनुसार २ से.मि. प्रिमिक्स पनि नभएको सडक डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी ईञ्जिनियर प्रदिप तामाङले बताउनुभयो ।

गोलञ्जोर कन्सट्रक्सन प्रा.लि. सिन्धुलीका प्रोपाइटर सुवास देवकोटाले भने स्थानीयको अवरोधका कारण योजना अनुसार आफूहरुले काम गर्न नपाउँदा समस्या आएको बताउनुभयो । कालोपत्रेका लागि बेस राख्न धुलो उडाउँदा स्थानीयले धूलो उडाए भनेर आफ्ना कर्मचारी तथा कामदार माथि कुटपिट गरेपछि योजना अनुरुप काम गर्न नपाउँदा कामको गुणस्तरमा समस्या देखिएको उहाँले बताउनुभयो ।

अहिले पनि समस्या देखिएको ठाउँमा पुनः काम गर्नुपर्ने दायित्व आफूहरुको भएपनि स्थानीयले अवरोध गरेपछि भत्किएको ठाउँमा पुनः काम गर्न नसकिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘कालोपत्रे गर्नुभन्दा अघि बेस राख्नुपर्ने हुन्छ, बेस राख्न धूलो उडाउनुपर्छ, धूलो उडायो भने स्थानीय आएर कर्मचारी तथा कामदारमाथि नै कुटपिट गर्छन्, गालीगलौज गरेर अवरोध गरे । त्यसपछि धूलो उडाउन पाइएन, धूलो नउडाई कालोपत्रे गर्दा यस्तो समस्या आएको हो । यो विषयमा सडक डिभिजन कार्यालयलाई पनि जानकारी गराएका थियौँ ।’

यता सडक डिभिजन कार्यालय सिन्धुलीले भने आफूहरुको निर्देशनलाई समेत अटेर गरी निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको बताएको छ । आयोजनाको अनुगमनका लागि कार्यालयले पठाएको प्राविधिकलाई समेत अटेर गरेर निर्माण कम्पनीले गुणस्तरहीन काम गरेपछि साइड इञ्जिनियरलाई समेत फिर्ता बोलाइएको सडक डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रदिप तामाङले बताउनुभयो ।

गुणस्तरीय रुपमा आयोजनाको काम गर्न लिखित निर्देशन दिएको तर कम्पनीले भने अटेर गरी गुणस्तहीन काम गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले लिखित र मौखिक दुवै रुपमा गुणस्तरीय काम गर्न निर्देशन दियौँ तर कम्पनीले टेरेन, हामीलाई कारबाही गर्न अधिकार पनि हुँदैन । हामीले यो आयोजना पास गर्दैनौँ भनेका छौँ, भुक्तानी भइसकेको छैन, भुक्तानी रोक्छौँ ।’

सडक डिभिजन कार्यालय सिन्धुलीले असार १० गते गोलञ्जो कन्सट्रक्सन प्रा.लि.लाई पत्रचार गरी मापदण्ड बमोजिम गुणस्तरीय काम गर्न निर्देशन दिँदै मापदण्ड बमोजिम काम नगरे स्वीकार्य नहुने समेत जानकारी गराएको थियो ।

कार्यालयले पठाएको पत्रमा भनिएको छ, ‘स्ट्यान्डर्ड स्पेसिफिकेशन फर रोड एण्ड ब्रिज वर्कस्, २०७५’ अनुसार गुणस्तरीय कार्य भएको नपाइएको कारण उक्त डिफेक्टिभ कार्य यस कार्यालयको प्राविधिकले दिएको निर्देशनअनुसार यथाशिघ्र रेक्टिफाई गर्न जानकारी गराईन्छ ।

‘स्ट्यान्डर्ड स्पेसिफिकेशन फर रोड एण्ड ब्रिज वर्कस्, २०७५’ अनुसार नगरिएको निर्माण कार्य स्वीकार्य नहुने समेत जानकारी गराएको छ ।’

यता मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले भने कामको गुणस्तरबारेमा सडक डिभिजन कार्यालयलाई आफूहरुले पटक–पटक ध्यानकर्षण गराएको बताउनुभयो ।

सडक डिभिजन मार्फत ठेक्का लगाएको कामको बारेमा आफूहरुले केही गर्न नसक्ने उहाँको भनाई छ । नियामक निकाय सडक डिभिजन कार्यालय भएकोले यस विषयमा कार्यालयलाई जानकारी गराइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

निर्माण व्यवसायीले भने जस्तो काममा स्थानीयले अवरोध गरेको भन्ने कुरा आफूलाई केही थाहा नभएको समेत उहाँले बताउनुभयो । निर्माण व्यवसायीले त्यो कुरा जानकारी गराएको भए नगपालिकाले नै सहजीकरण गरिदिन्थ्यो, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार