रामेछापको मन्थलीमा दलित महिलालाई पञ्चेबाजा बजाउने १० दिने तालिम सुरु

रामेछापको मन्थलीमा दलित महिलालाई पञ्चेबाजा बजाउने १० दिने तालिम सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा ‘दलित महिलालाई पञ्चेबाजा बजाउन सिकाउने’ १० दिने तालिम आजदेखि सुरु भएको छ ।
मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा पञ्चेबाजा संरक्षण समाज जिल्ला कार्य समिति रामेछापको आयोजनामा मन्थलीस्थित तीनलाल पार्कमा भएको तालिमको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्धघाटन गर्नु भएको हो । मौलिक लोक धुन र बाजाहरुको संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पञ्चेबाजा संरक्षण समाज रामेछापका संस्थापक अध्यक्ष ज्ञानबहादुर सुन्दासले बताउनभयो ।

कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथिका रुपमा रहनु भएका मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले यो पेशालाई व्यवसायिक कलाको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ । नगरप्रमुख श्रेष्ठले यसलाई व्यवसायिक कलाको रुपमा स्थापित गर्ने र विकास गराउने कुरामा आफूहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिममा सहभागी भएर सिक्न आउनेहरुलाई तालिमपछि सबैलाई एक सेट बाजा उपलब्ध गराउने उहाँले बताउनुभयो । नगरप्रमुख श्रेष्ठले कार्यक्रममा सहभागीहरुसँगै बाजासमेत बजाएर सहभागी प्रशिक्षार्थीहरुलाई हौसला समेत प्रदान गर्नु भएको थियो ।

‘तपाई हामी सबैबाट संकलन भएको करबाट हामीले खर्च गर्ने हो, तपाईहरुले यसलाई व्यवसायिक कलाको रुपमा अघि बढाउनुस्, हामीसँग यति छ, यति पुगेन भनेर आउनुस्, त्यसपछि के सहयोग गर्नुपर्छ हामी पनि गरौँला, उहाँले भन्नुभयो ।’

मन्थली नगरपालिका वडा नं. १ का कार्यबाहक वडा अध्यक्ष चन्द्र बहादुर माझी र रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुबेदीले पनि यो पेशालाई सबै क्षेत्र र समुदायलाई समेटेर फराकिलो ढंगले अघि बढाउनु पर्ने बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्य समिति रामेछापका अध्यक्ष नवराज विश्वकर्माले पनि दलित समुदाय आफ्ना मौलिक पेशालाई श्रम र मूल्यसँग जोडेर व्यवस्थित ढंगले अघि बढाउनुको साटो उल्टै पेशाबाटै पलायन भइरहेको बताउनुभयो ।

उहाँले विभिन्न विभेद र उत्पीडन सहेर मौलिक लोकबाजा र संस्कृतिलाई पेशाको रुपमा एक युगसम्म काँधमा बोकेर आएको दलित समुदायको उचित सम्मान नहुँदा र समाज र देशले अछूत भनेर उल्टै अमानवीय व्यवहार गर्दा आफ्नो मौलिक पेशालाई विस्तारै यो समुदायले छोडिरहेको बताउनुभयो ।

अब यसलाई कला उद्योगको रुपमा स्थापित गरेर कला र श्रमसँग जोडेर सम्मानित पेशाको रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ हिजो यो समुदायलाई विवाह, ब्रतबन्ध लगायतका कार्यक्रममा मनोरोञ्जनका लागि बाजा बजाउन बोलाइन्थ्यो, खाना खाने बेलामा अछूत भनेर छुट्टै राखेर विभेद गरिन्थ्यो, उनीहरुलाई खाना थप्नका लागि प्रयोग गरिएका भाडा कुडासमेत भान्सामा लगिँदैन थ्यो, आज पनि यो समुदाय उत्पीडनमा छ । सिन्धुली कलाघरलाई त्यही पेशा गर्दा देशले सम्मान ग¥यो अनि यो समुदायलाई सधैँ अछूत भनेर विभेद मात्र गरिरह्यो । त्यसैले यो समुदाय मौलिक पेशाबाट विस्थापित हुँदैछ ।’

पञ्चेबाजा संरक्षण समाज रामेछापका अध्यक्ष गोपाल नेपालीले यो तालिम शुरुवात मात्रै भएको बताउँदै आगामी दिनमा पनि आवश्यक्ताको आधारमा यस्तो तालिम सञ्चालन गरिने बताउनुभयो । गोपाल नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिममा १० जना दलित महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार