रामेछापमा खडेरीले सुक्यो मकै,किसान चिन्तित 

रामेछापमा खडेरीले सुक्यो मकै,किसान चिन्तित 

रामेछापमा समयमै वर्षा नहुँदा खडेरीले बारीमै बाली सुक्न थालेको छ । रहर लाग्दो हुर्कदै गरेको मकैको बोट नै सुक्न थालेपछि यहाँका किसान चिन्तामा छन् । ढिलो गरी वैशाखको अन्तिमतिर मकै रोपिए पनि त्यसयता पर्याप्त वर्षा नभएका कारण मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो ।

चैतसम्म नभएको वर्षा जेठको पहिलो सातामा आएर भएको थियो । त्यसयता खासै वर्षा हुन सकेको छैन । वर्षा नभएपछि जिल्लाको धेरै जसो ठाउँका कृषक लामो खडेरीका कारण मकैको बिरुवा मर्न थालेको भन्दै चिन्तित बनेका हुन् । रामेछापको सुनापती गाउँपालिका ३ का कृषक बद्रि बहादुर कार्कीका अनुसार हुर्कँदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धामाधम ओइलाउन थालेको छ । दिनभरको चर्को घाम र समयमै पानी नपर्दा मकैको बोटहरु सबै सुक्न थालेको उहाँले बताउनुभयो ।

यो वर्ष फौजी किराले मकैमा समेत क्षती पुर्याएको र वर्षा हुन नसकेका कारण बारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रामेछाप नगरपालिका ७ का कृषक बिमला बस्नेतले बताउनुभयो । मकैको बिरुवा हुर्कन लागेका बेला खडेरी सुरु भएकाले विरुवा मर्न थालेपछि आफूहरूलाई चिन्तित बनाएको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश ठाउँका किसानले लगाएको मकै बाली वर्षा नहुँदा सुक्न थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार