सिन्धुलीको गोलन्जोरमा ६ करोड बढीको लागतमा अस्पताल भवन बन्दै 

सिन्धुलीको गोलन्जोरमा ६ करोड बढीको लागतमा अस्पताल भवन बन्दै 

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ५ शैयाको अस्पताल भवन बन्ने भएको छ । नयाँ बन्ने सुविधा सप्पन्न भवनको शुक्रबार(आज) उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले भवनको शिलान्यास गर्नुभयो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले पालिकामै सुविधा सम्पन्न अस्पताल बन्नु खुशीको कुरा भएको बताउनुभयो । पालिकामा विकास निर्माणको कामहरु भैरहेको भन्दै उहाँले अस्पताल बनेपछि अरु जिल्लाका पनि धेरै बिरामीले फाइदा लिने बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने(पुकार) ले अस्पताल भवन सम्पन्न भएपश्चात् यस बिकट क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो । गोलन्जोर जुनारको हब रहेको भन्दै उहाँले अब जुनारबाटै पालिका समृद्ध बनाउने गरि काम गर्ने योजना रहेको पनि सुनाउनुभयो ।

अस्पताल भवन निर्माणमा सहयोग गरेको संस्था ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले १८ महिनामै अस्पताल भवन निर्माण सम्पन्न भएर पालिकालाइ हस्तान्तरण गरिने बताउनुभयो । उहाँले देशका विभिन्न ठाउँहरुमा ब्याक टु लाइफले अस्पताल भवन निर्माण गरेको बताउनुभयो । देशका विकट ठाउँमा यो संस्थाले शिक्षा,स्वास्थ्य,कृषि र खानेपानीमा धेरै कामहरू गरेको पनि बताउनुभयो ।

गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल भवन निर्माण हुनेछ । ब्याक टु लाइफ इ भि जर्मनी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको ६ करोड ७६ लाख रुपैंया बराबरको लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार