आमा सुतेकाे शीतल छहारी
बाउले सिञ्चित गरेकाे भूगाेल
उजाड भएर उडेका छन्
यतिखेर चिच्याउँदैन झ्याउकीरीहरु
साँझमा
सम्झनाका यादहरु
बाेकेर गएका छन् तिनीहरु
अध्याराेले खाेसेकाे रातमा
अध्याराेमै हराइरहेका छन् तिनीहरू
बिहानी पख नरम भएर खसेकाे शीत
पहाडकाे टुप्पाेबाट तलतिर झर्दै गरेकाे
कुटुनी बतास
घर फर्कदै गरेकाे मलाई नसाेधे हुन्छ
मेराे बिरुद्धमा छन् तिनीहरु
छ महिनाकाे त्यहीँ दिन अामाले
घुट्क्याई दिइछिन् तीनपानेकाे एक गिलास
चढेछ हरक पेट भित्रै हानेछु लात्ती
त्यसपछिका दिन म नजन्मदै
जड्याहा भइसकेछु
यसरी
मेराे ईतिहासकाे लेखाजाेखा गर्न
मेराे माैलिक साैन्दर्यहरुकाे बिरुद्धमा
बहसमा उत्रेका छन् तिनीहरु
एकाएक
निःशुल्क किनेकाे उपहारजस्ताे
राष्ट्रिय दिन
फिर्ता दिएर जादैछन् तिनीहरु
स्पष्टरुपमा खुट्याउन नसकिने
अक्षरहरुमा
अर्थहीन हिडिरहेकाे मेराे पदचापले
बकिरहेका अर्थहीन जिन्दाबादका
नाराहरुसँग
अस्तित्वकाे अर्थ खाेज्दै
म हराएकाे अाकाशभरि
मुटुमाथि ढुङ्गा राखी
फिरादपत्र बाेकेर
मेराे बिघटनकाे पक्षमा
उभिरहेकाछन् तिनीहरु।
कवि : नवीन गाउँले