डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीसँग गरिएको कुराकानीको सम्पादीत अंश :
डिभिजन बन कार्यालयको कार्यक्रम के छ ?
डिभिजन वन कार्यालयले प्रदान गर्ने प्रमुख सेवाहरुमा सामुदायिक वन क्षेत्रमा प्राविधिक सहयोग गर्ने, गरिबीको रेखामुनी रहेका परिवारका लागि कबुलियती वन क्षेत्रमा आयआर्जनसँग सम्बन्धित प्रविधि हस्तान्तरण गर्ने, उनीहरूलाई सहजीकरण गराउने, राष्ट्रिय वन क्षेत्र संरक्षण गर्ने जस्ता कामहरू गरिरहेको छ ।
अन्य कार्यक्रमहरूमा सामुदायिक वनहरूको समयावधि अनुसार नवीकरण गर्दै जाने, चेतनामूलक कार्यक्रमहरु जलवायु परिवर्तन सम्बन्धी चेतामूलक कार्यक्रम गर्दै आएको छ । ऐन विपरीत वन्यजन्तुहरूको चोरी निकास, काठ तस्करीजस्ता गतिविधि रोक्न, मुद्दा चलाउने, पक्राउ गर्ने, सजाय, दण्ड जरिवाना गर्ने कामहरू गरिदै आएको छ । गर्मी सिजनमा आगो लागिबाट हुने क्षति कम गर्न जनचेतनामूलक सन्देशहरू स्थानीय पत्रपत्रिका, रेडियोहरूबाट प्रसारप्रचार गर्दै आइरहेका छौँ । त्यसैगरी वन वातावरणसँग सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय दिवश जस्तै सिमसार दिवश, जैविक विधितता दिवश, वन दिवश, राष्ट्रिय वन डढेलो सप्ताह, वृक्षारोपण दिवश, अन्तर्राष्ट्रिय वातावरण दिवश लगायत कार्यक्रमहरूमा हामीले स्थानीय तहमा स्थानीय समुदाय र सरोकारवालाहरू संगसँगै मिलेर वृक्षारोपण गर्ने कार्यहरू गर्दै आएका छौँ ।
विद्यालयहरूमा बालबालिकाहरूलाई बोटविरुवासँग सम्बन्धित चेतनामूलक इको क्लवहरू गठन गर्ने काम गरेका छौँ । विद्यालय स्तरमा इको फ्रेण्ड्ली पार्कहरू सीमित मात्रामा भए पनि अनुदान दिइरहेका छौँ । धार्मिक मन्दिर पाटी पौवाहरूको संरक्षण गर्न अनुदानमा काम गरिरहेका छौँ । रामेछाप जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषणा गरेकोमा हामीले यो वर्ष ३० हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्झौता भएर विभिन्न समूहमा काम भइरहेको छ । माथिल्लो क्षेत्र उमाकुण्ड, गोकुलगंगातिर जडिबुटी, लौठसल्ला लगायतका विरुवा रोप्दै जडिबुटी पकेट क्षेत्र घोषणा गरेर वृक्षारोपण गर्ने काम भइरहेको छ । वर्षाको पानीहरू संरक्षण गर्ने, पुनरभरण गर्ने, पोखरीहरू निर्माण गर्ने कामहरू ४ ठाउँमा भइरहेको छ । यो सालमात्रै ३० वटा सामुदायिक वनहरूलाई नवीकरण गरेका छौँ । केही प्रक्रियामा छन् भने केही सूचिकृत भएका छन् । डिभिजन बन कार्यालय मार्फत भएका मुख्य कामहरू यीनै हुन् । यसरी नै चलिरहेको छ ।
डिभिजन वनले सञ्चालन गर्ने कार्यक्रममा नागरिकहरू कसरी आवद्ध हुन सक्छन् ?
डिभिजन वन कार्यालय र ८ वटा स्थानीय तह रहेको रामेछाप जिल्लामा हाम्रो ६ वटा सेक्टरहरू छन् । स्थानीय सेक्टर अनुसार नजिकको सवडिभिजनमा गएर आफ्नो समस्याहरू राख्ने, वृक्षारोपण गर्ने, सामुदायिक वन दर्ता गर्ने, नवीकरण गर्ने, वन्यजन्तु तस्करी रोक्ने लगायतका कार्यहरु सवडिभिजनबाटै हुन्छ । त्यहाँबाट सिफारिस प्राप्त भएपछि हामीकहाँ आएका कार्यक्रमको आधारमा स्थलगत निरीक्षण गर्ने, उहाँहरूको निर्णय प्रक्रिया हेर्ने, सामुदायिक वन नवीकरण भएको छ, छैन ? उहाँहरूले साधारण परीक्षण गर्नु भएको छ, छैन ? लेखा परीक्षण लगायतका कामहरू नियमित छ, छैन ? लगायतका इन्डिकेटरहरू हामीले हेर्छौँ । त्यसका आधारमा प्रक्रिया पूरा भएकाहरूलाई प्राथमिकता दिन्छौँ ।
रामेछाप जिल्लामा वन्यजन्तु र बनस्पती चोरी निकासीको अवस्था कस्तो छ ?
चोरी निकासीतर्फ सालक प्रजातिका बन्यजन्तुको खपेटाहरू चोरी, तस्करी बिक्री सम्बन्धी २ वटा मुद्दा जिल्लाबाट फैसला भएको छ । त्यो बहेक अन्य मुद्दा परेको छैन । यो साल काठजन्य मुद्दा पनि छैन । त्यस्तै जडिबुटी जन्यमा पनि त्यस्तो व्यापक रुपमा चोरी भएको रामेछाप जिल्लामा पाइएको छैन ।
काठ तस्करी कत्तिको हुने गरेको छ ?
स्थानीय स्तरमै जनताहरूले उपयोग गर्ने सामान्य स्तरमा केही कुरा प्रयोगमा ल्याए पनि संगठित रुपमै तस्करी भएको देखिदैन ।
यो वर्ष धेरै वन आगलागि भयो, आगलागिबाट कति वन क्षति भयो ?
वैशाखको सुरु सम्मको हामीले डाटा बनाएका थियौँ । सुरुमा आगो लाग्ने बेलामा ३५ वटा सामुदायिक वनमा २ हजार २ सय ५० हेक्टरमा आगलागि भएको तथ्यांक हामीले निकालेका थियौँ । तर पछिल्लो समय अझ बढी क्षेत्र आगलागि भयो । खडेरी पनि लामो पर्यो । कम्तीमा पनि १० हजार हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको हामीले अनुमान गरेका छौँ ।
आग लगाउने ब्यक्ति फेला परेका छन् कि छैनन् ?
पक्राउ गर्न सकिएको छैन । कहिलेकाँही आशंकाको भरमा फलानो मान्छे हो, यहाँ यसले बाख्रा चराइरहेको थियो, त्यसैले होला भन्ने सम्मको मान्छेहरूसँग भेटघाट भएको छ तर प्रमाणकै आधारमा भेटिएको छैन । अनुमानको भरमा मुद्दा चलाउन पनि मिलेन । हामीकोमा केही दिन अनुसन्धान गर्ने हिसावले १÷२ जना मान्छेहरू दुई चार दिन अनुसन्धानमा बसेको तर प्रमाण नपुग्दा कारबाही गर्न नसकिएको अवस्था छ ।
वर्षायाममा डिभिजन वन कार्यालयले वृक्षारोपणको तयारी कस्तो गरेको छ ?
६० हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने हाम्रो तयारी छ । त्यस अन्तर्गत विभिन्न प्रजातिका विरुवाहरू रोप्ने छौँ । जडिबुटी लौठसल्लादेखि अर्घेलीजस्ता बोटबिरुवाहरू करिब–करिब १ लाख भन्दा बढी बिरुवाहरू वृक्षारोपण गर्छौँ ।
बिरुवाहरू आवश्यकताको आधारमा नागरिकले लिन मिल्छ कि मिल्दैन ?
कार्यक्रम प्याकेजमा आएका छन् । त्यसका लागि छुट्टै बिरुवाहरू ल्याउछौँ । रामेछाप डाडाँमा पनि २०/२५ हजार बिरुवा उत्पादन गर्ने नर्सरी छ । चिसापनी मन्थलीमा विभिन्न किसिमका जडिबुटी विरुवाहरू हामीले उत्पादन गरिरहेका छौँ । ठोसे उमाकुण्डमा पनि लौठसल्ला, गुर्जो, अर्गेली, अमला कुरिलोजस्ता बिरुवाहरू उत्पादन भइरहेको छ । जडिबुटी चाँहि वितरण गर्ने अवस्था छैन । कार्यक्रम अन्तर्गतको बाहेक अरू २०/५० हजार बिरूवा निःशुल्क वितरण गर्छौँ ।
अन्त्यमा रामेछापबासीलाई के भन्न चाहनु हुन्छ ?
म रामेछापबासी जनतालाई के भन्न चाहन्छु भने वर्षाको समय छ, पानी परिसकेपछि तपाइको क्षेत्रमा हुर्किन सक्ने विभिन्न प्रजातिका विरुवाहरू भीर, पहिरो, खोल्सा खोल्सीहरूमा लगाउनु होस् । भू–क्षयबाट बच्नका लागि अपनाउनु पर्ने पूर्व तयारीमा लाग्न अनुरोध गर्न चाहन्छ । स्थानीय तहमा कार्यविधि विपरीत विभिन्न सार्वजनिक क्षेत्रहरूमा कामहरू भइरहेका छन् । त्यसलाई प्रकृतिप्रति न्याय गर्न भूमिका खेलिदिनु हुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।