उत्तर–पूर्वी रामेछापको गोकुलगङ्गा गाउँपालिका क्रमशः विकास र चेतनामा उठिरहेको छ । पूर्वाधार विकास र चेतना विकाससँगै हिंसा र प्रतिहिंसाका घटना व्यवहारमै घटिरहेको उपप्रमुख उषादेवी कार्कीको अनुभव छ । लैङ्गिक हिंसा विरुद्धको अभियानको सेरोफेरोमा रहेर हिंसाको जोखिममा रहेका वर्गको अवस्था बारे कार्कीसँगको कुराकानी प्रस्तुत छ ।
लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको छ । तपाइँले कसरी मनाइरहनुभएको छ ?
लैङ्गिक हिंसालाई निमिट्यान्नै पार्नुपर्छ भन्ने गोकुलगङ्गा गाउँकार्यपालिकाको लक्ष्य नै छ । दीप प्रज्ज्वलनबाट सुरु गरेर हालसम्म पनि हामी अभियानमा जोडिरहेका छौँ । तर, यसपालि लैङ्गिक हिंसा विरुद्धको अभियानका लागि बजेट छुट्याएको थिएन । कुन–कुन कार्यक्रम कसरी गर्ने भनेर हामीलाई थाहा पनि भएन । त्यसैले बजेट छुट्याउँदा मोटामोटी छुट्याइएको थियो । पालिकाका ६ वटै वडाका दिदीबहिनीहरूलाई बोलाएर सबै कुरा राखेर वृहत्त कार्यक्रम गर्ने इच्छा थियो तर बजेट नहुँदा अभियान सामान्य किसिमले मनाइरहेका छौँ । अभियानलाई बल पुगोस् भनेर सरसफाई लगायका सामान्य कामहरु चाहिँ गरिरहेका छौँ । अन्तिमसम्म कतैबाट सहकार्य गरेर बजेट मिलाउन सकियो भने पालिकाभरि भेला गरेर मनाउने सोच बनाएका छौँ । बजेटकै अभावले अभियान गर्न सकेनौँ भन्नुभयो, तपाईंहरू बजेट बिनियोजन गर्ने ठाउँमै हुनुहुन्छ त ! हामी जनप्रतिनिधी नयाँ भयौँ । कार्यक्रमहरू के–के आउँछ भन्ने थाहा भएन । यो कार्यक्रमका लागि यति नै बजेट छुट्याउन पर्छ भन्ने पनि थाहा भएन । समयमै यकिन सूचना पनि आएन । अब आगामी वर्षहरुमा बजेट छुट्याएरै परिणाममुखी काम गर्नेछौँ ।
अन्य पालिकामा अभियान चलिरहँदा तपाइँलाई केही खड्केको छ कि छैन त ?
महसुस भएको छ । यो वर्ष अन्तिम दिनको कार्यक्रम गरेर मनाउने प्रयास गर्नेछौँ । भविष्यमा बजेट राखेरै निरन्तर कार्यक्रम गर्छाैँ ।
पालिकाको बजेट सडकमा मात्रै खर्चिने हो त ?
सडक, स्वास्थ्य, खानेपानी, शिक्षा सबै कुरा हेर्नुपर्छ । तर मुख्य कुरा सडक नै हो । यो वर्ष खाल्डा पु¥यो फेरि भारयुक्त गाडी हिँडेपछि भत्किहाल्छ । भत्केपछि बनाउने प¥यो । नगर्दा जनप्रतिनिधिले केही नगरी हेरेर बसेको जस्तो मात्र हुन्छ । त्यही भएर धेरै रकम सडकमै खर्च भइरहेको छ ।
तपाइँको पालिकामा महिला, बालबालिका, जेष्ठ नागरिकका लागि पनि बजेट छुट्टिएको छैन कि ?
त्यस्तो होइन । जेष्ठ नागरिकलाई सम्मान गर्ने भनेर बजेट छुट्याएका छौँ । अर्काे महिनापछि त्यो काम शुरु हुन्छ । बालबालिकाका लागि पनि छुट्याएका छौँ । मैले अन्य कार्यक्रम गर्ने भनेर बजेट छुट्याइएको छैन भनेकी हुँ ।
गोकुलगङ्गामा महिलाहरूको अवस्था कस्तो छ ?
पालिकाभरि एकैनासको अवस्था छैन । कहीँका महिलाको अवस्था नाजुक कतै राम्रै अवस्थामा छन् । कति ठाउँमा ठूलो समस्या र आवश्यकतामा परेका महिला छन् । उनीहरुको अवस्था देख्दा दुःख लाग्छ । तर, सबै कुरा पालिकाले थेग्न नसकिने रहेछ । पीडितहरूका पक्षमा हामी निरन्तर लागिरहेकै छौँ । सक्ने सहयोग र जनचेतना दिने प्रयासमा छौँ । खासगरी महिलाहरुलाई घरेलुहिंसा पीडित हुन नदिन सचेत गराइरहेका छौँ ।
सचेत गराएको भन्नाले कस्ता योजना बनाएर काम गर्नुभएको छ ?
जस्तो : नारी दिवस मनाइरहेका छौँ । महिलाहरूलाई सीपमूलक तालिम दिने योजनामा छौँ ।
सिलसिलावद्ध योजना बनाउनुभएको छैन त्यसो भए ?
अब सुरु हुन्छ । वर्षा लाग्यो । अनुगमनका काम शुरु भए । चाडपर्व र चुनाव यसैबीचमा आयो । कार्यक्रम सुरुवात नै भएको छैन । अब भटाभट सुरु हुन्छ ।
महिला सबलीकरणका कस्ता–कस्ता कार्यक्रम छन् त ?
सीपमूलक तालिम दिने योजना छ । कृषक महिलाहरूलाई कृषि सम्बन्धी तालिम दिने, पार्लर खोल्ने लाई पार्लरको तालिम दिने खालका कार्यक्रम छन् ।
तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ ? कस्ता प्रकृतिका उजुरी आउने गरेका छन् ?
हामीले सोचेजति संख्यामा उजुरी आएका छैनन् । श्रीमान् श्रीमतीका बीचका विवाद र झैझगडाका ५–६ विवाद हामीले मिलाएर पठायौँ । अब २ वटा जति विवाद बाँकी छ । घरेलु र सम्बन्धजन्य विवाद बढी देखिन्छ ।
विवाद कसरी मिलाउने गर्नुभएको छ ?
श्रीमती पीडित बनेका विवाद आएका छन् । हामीले श्रीमानलाई झिकाएर छलफल गराउने, सम्झाउने, विकल्प दिने र मिलापत्र गर्दाका हित र फाइदाबारे बुझाउने गर्छाैँ । विवादलाई दुबैपक्षको हित हुनेगरी मिलाउने हाम्रो लक्ष्य रहन्छ । कतिपय सम्बन्ध बिच्छेद गर्नेतहमा पनि विवाद आएका थिएँ । हाम्रो अधिकारक्षेत्र भित्र नपर्ने भएकाले जिल्ला अदालतमा पठाइदियौँ ।
बालविवाहको अवस्था चाहिँ पालिकामा कस्तो छ ?
बालविवाह भयो भनेर अहलिेसम्म सुनेको र कोही उजुरी लिएर आएको छैन । उजुरी नपरेपछि हामीलाई थाहा हुने कुरा पनि भएन । बालविवाह रोक्न सचेतनामूलक कार्यक्रम गर्ने सोच बनाएका छौँ । कार्यक्रम गर्दा न्यायिक समिति सहित वडा–वडामा गएर भेला, सचेतना र प्रशिक्षण कार्यक्रम राख्ने बिचारमा छौँ । हामीलाई यस्तोसमस्या प¥यो भनेर पीडित र सरोकारवाला नआउँदा कार्यक्रम राख्न पनि बल नपुगेको जस्तो लागेको छ ।
छोरा र छोरी बीचको विभेद चाहिँ कत्तिको अनुभव हुने गरेको छ ?
यो विषयमा पनि निवेदन÷उजुरी आएको छैन । गाउँ–बस्तीमा पुग्दा सामान्य विभेद त देखिन्छ । जस्तै ः छोरीहरू काममा जाने छोरा चाहिँ पढ्न पठाउने घटना नभएका होइनन् । कति ठाउँमा छोरीलाई काममा लगाउने, छोरा चाहिँ बरालिएर हिँड्ने गरेको पनि देखिन्छ । यस्तोमा हामीले लैङ्गिक विभेद नगर्न र छोरीलाई पनि बराबर पढाउनु पर्छ भनेर सम्झाउने गरेका छौँ ।
छोरा र छोरीलाई पढाउने स्कूल नै फरक हुने गरेको अनुभव पनि छ कि ?
मैले त्यस्तो चाहिँ देखेको छैन । सबै वडा–वडामा गएर डाटा उतार्ने काम पनि गरेको छु तर छोरालाई र छोरीलाई छुट्टै स्कुलमा पढाएको देखेको छैन । कतै त्यस्तो पाइए हामी विभेद गर्न दिदैनौँ ।
छोरी र बुहारीबीच गरिने व्यवहार नि ?
गाउँघरमा मैले यस्तो व्यवहार पनि देखेको छैन । बुहारीलाई काममा घोटाउने, छोरी बसेर खाएको देखेको छैन । व्यवहारमा छँदैछैन भन्न सकिँदैन तर बाहिरै उत्रिने गरी देखेको छैन ।
लैङ्गिक हिंसा, महिला हिंसा, विभेद हटाउन के गर्नुपर्छ जस्तो लाग्छ तपाइँलाई ?
हिंसा कुनै एउटा व्यक्ति र निकायमात्रको पहलबाट हुने कुरा होइन । हिंसा गैरकानूनी हो, पाप हो, असामाजिक व्यवहार हो र आफूले हिंसा गर्दा यो घुमेर आफैँलाई एकदिन डस्न आउँछ भन्ने चेतना जन–जनमा हुनुपर्छ । यसका लागि स्थानीय तहले पनि नियमित गाउँ–गाउँ, शिक्षालय–विद्यालय गएर लैङ्गिक र महिला हिंसा, विभेद विरुद्ध चेतना जगाउन प्रशिक्षण, गोष्ठी, शिविर चलाइरहनुपर्छ । सबैको एकमना उद्देश्य र पहलबाट हिंसा र विभेद न्युनीकरण गर्न सकिन्छ । उजुरी गर्ने, दण्ड र सजायँ दिने निकाय पनि इमानदार र सक्षम हुनुपर्छ ।
पालिकामा कोही विभेद र हिंसामा परे कहाँ जाने हो त ?
यो महत्वपूर्ण प्रश्न हो । हिंसा र विभेदका पनि प्रकृति र रुप छन् । कतिपय न्यायिक समितिमा, कतिपय मेलमिलाप केन्द्रमा, कतिपय प्रहरी–प्रशासन र कतिपय अदालतमा जानेखालका व्यवहार हुन्छन् । तर आमनागरिक चाहिँ पहिला प्रहरीमा, त्यसपछि वडामा र अन्तिममा मात्र न्यायिक समितिमा आउने गरेको देखिन्छ । यसलाई बुझ्नेगरी भन्दा साधारण प्रकृतिका विवाद मेलमिलाप केन्द्र र न्यायिक समितिमा र गम्भीर खालका अपराधमा प्रहरी कार्यालयमा जानुपर्छ । हामीकहाँ सामुदायिक मेलमिलाप केन्द्र कतै व्यवस्थित नभएको र कति ठाउँमा भूगोल र दूरिका कारण पनि नागरिकले मेलमिलाप केन्द्रबाट सोचेजति लाभ लिन सकेका छैनन् । तुरुन्त न्यायका लागि र जतिखेर पनि खुला हुने हुँदा प्रहरी चौकीमा जाने चलन जस्तै बसेको छ ।
अन्त्यमा पालिकाबासीलाई के भन्नु हुन्छ ?
नागरिकको समस्या र अप्ठेरोमा म सधैँ साथमा छु । अप्ठेरो पर्दा जुनसुकै ठाउँमा म पुग्नेछु । पालिका सदैव मेरो साथमा छ भन्ने विश्वास गर्नुहोला भन्न चाहान्छु ।