रामेछाप नगरपालिकामा हालै नेपाली काङ्ग्रेसबाट निर्वाचित नगरप्रमुख लवश्री न्यौपाने हरेक घरमा पानी, प्राविधिक, वगैँचा र रोजगारी ल्याउन कृतसङ्कल्पित हुनुहुन्छ । रामेछाप नगरपालिका निर्माणका भावी योजना बारे न्यौपानेसँग गरिएकोे कुराकानी ।
नगर विकासका लागि के सोच्नुभएको छ, कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
मैले भर्खरै नगरप्रमुखको पदभार समालेको छु । नगरभित्र के–कस्ता गतिविधि भइरहेका छन् त्यो बुझ्न बाँकी छ । अहिले धेरै साथी नयाँ आउनुभएको छ । हामीलाई पनि अनुभवको कमी छ । अनुभव पनि गर्र्दै जानुपर्छ किनभने धेरै लामो राजनीतिक संघर्ष गरेर, रामेछाप नगरवासीले पत्याएर म नगरप्रमुख भएको छु । विकास–निर्माणसँगै हरेक काममा लगनशील छ भनेरै नागरिकले मलाई पत्याएको जस्तो मलाई लाग्छ । तसर्थ यसअघिका साथीहरुले गरेका काम राम्रोसँग अध्ययन गर्छु, राम्रा कामलाई निरन्तरता दिँदै रामेछाप नगरपालिका हेर्नलायकको बनाउने लक्ष्य छ । यसका लागि जनप्रतिनिधि, नागरिक र सरोकारवाला शक्ति सबैको उत्तिकै सहयोग चाहिन्छ ।
नगर बनाउने ५ बर्षे खाका कस्तो बनाउनुभएको छ ?
मेरो पहिलो प्राथमिकता शिक्षामा गुणस्तर कायम गर्नुपर्छ भन्ने छ । यसका लागि नगरभित्रकासामुदायिक विद्यालयहरुमा अभिभावकको चाहना र इच्छा अनुसार अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको शुरुवात गराउने योजना छ । एक घर एक प्राविधिक बनाउने लक्ष्य राखेका छौँ । दोस्रो कुरा स्वास्थ्य हो । स्वास्थचौकीमा अहिले के कस्ता प्रविधिहरु छन्, सामान्य उपचार गर्नसक्ने अवस्था नभएको ठाउँमा स्तरवृद्धि गरी उपचारको व्यवस्था मिलाउँछौँ । स्वास्थ्यमा जनताको पहुँच पु¥याउने कार्यक्रम छ । दलित समुदाय र ६० वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य बीमा गराउँछौँ । नगरपालिकाले एकजना डाक्टर व्यवस्थापन गर्ने निर्णय गरिसकेका छौं ।
जिल्ला अस्पताल आउन सहज हुनेगरी रामेछाप नगरपालिकाका ३ वटा बाटोलाई प्राथमिकता दिएर काम गर्नुपर्नेछ । गोठगाउँ–रामेछाप, बोलुङबोलुङ–रामेछाप र कोलञ्जोर घाट–रामेछाप बाटोलाई विशेष प्राथमिकता दिनेछौँ । अर्को कुरा, रामेछाप नगरपालिकाका धेरै वडा सुख्खाग्रस्त क्षेत्र भएकाले एक घर एक धारोको अवधारणा अगाडि सारेका छौंँ । राजनीतिमा एउटा सम्झौंताले आमूल परिवर्तन हुन्छ । जनतालाई प्रत्यक्ष लाभ हुने कृषिका कार्यक्रम अघि सार्नेछौ । देश बाहिर रहेका धेरै युवालाई स्वदेशमै राख्ने गरी कृषिमा नयाँ प्रविधिलाई प्राथमिकता दिएर रोजगारीको व्यवस्था मिलाउने योजना छ । विकास निर्माणमा समय लाग्छ, केही समय कुर्नुपर्छ । १ बर्षपछि हाम्रो मूल्याङ्कन हुनेछ ।
रामेछापको बजार व्यवस्थापन गर्ने कस्तो योजना छ ?
रामेछाप बजार बनाउन हाम्रो ठूलो भूमिका छ । रामेछाप बजारलाई शहरीकरण गर्न बाहिरबाट आएकाहरुले जग्गा किनेर घर बनाउन जग्गा अभाव भएकाले बजार क्षेत्रभित्र नयाँ बस्ती निर्माणका लागि नयाँ योजना बनाउँछाँै । मुआव्जा कमिटी नै बनाएर जग्गाको मुआव्जा दिएर बाटो विस्तार गर्ने योजना पनि छ । बजार क्षेत्रमा बाटो, ढल निकासको समस्या छ, यसलाई चाँडै निकास दिन्छौंँ ।
रामेछाप बजारमा पर्यटकका लागि आवास नभएको अवस्था छ, नगरपालिकाले अनुदान दिएर होटल सञ्चालन गर्नेतर्फ केही सोच्नुभएको छ ?
रामेछापका व्यवसायी, व्यापारी, वुद्धिजीवीहरूलाई बोलाएर उहाँहरुको के समस्या समाधान गर्दा रामेछाप बासबस्न लायक हुनसक्ला भनेर छलफल गर्छाै । विदेशी–स्वदेशी पर्यटकलाई स्थानीय सँस्कृति र नेपालीपन देखाउने गरी नगरभित्र २–४ ठाउँमा होमस्टे स्थापना गर्ने सोच राखेका छौँ । भालुखोपमा भ्यू टावर बनेको छ । ऐतिहासिक तिल्केस्थान, केवलेश्वर महादेव मन्दिर, ताराखसे पोखरी जस्ता थुप्रे धार्मिक पर्यटकीय स्थलको प्रचार–प्रसार गर्नसके रामेछाप नगरपालिकामा बाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ । उसका लागि व्यापक छलफल अगाडि बढाउँछौँ ।
जिल्लाकै जुनार पकेट क्षेत्र यसै नगरमा छ ? जुनार खेतीको विकास र विस्तारमा के योजना बनाउनुभएको छ ?
हो, यहाँ यहाँ धेरै जुनार उत्पादन भइरहेको र बजार पनि लिएको छ । अहिले किसान आफैं सक्रियतापूर्वक जुनारखेतीमा लाग्नुभएको छ । तर, जुनारमा विभिन्न रोगका कारण किसान मर्कामा छन् । यसका लागि आवश्यक प्राविधिक र औषधीय सहयोग गर्न गर्नुपर्नेछ । भइरहेका वगैँचा व्यवस्थित पार्ने र नयाँ वगैंँचा बनाउन सहयोग गर्ने योजना छ । “एक वगैचा एक प्लाष्टिक पोखरी” र “एक घर एक धारो” कार्यक्रमले सुख्खा समयमा पनि जुनारको उत्पादन बढाउन सकिन्छ । जुनारका लागि शीतभण्डार निर्माण गर्नसके बेमौसममा बिक्री गरी राम्रो आम्दानी हुने साथै जुनारको जूस उद्योग फस्टाएर रोजगारी बढाउन सकिन्छ । उत्पादित जुनारको लागत मूल्यका आधारमा बजार व्यवस्थापन पनि गर्नुपर्छ, त्यसमा नगरपालिकाले ध्यान दिनेछ ।
वास्तविक किसानले अनुदान नपाएको गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
पहिला के भएको रहेछ हामी हेर्छौ । मलाई लाग्छ त्यस्तो नहुनु पर्ने हो । ठूलो क्षेत्रमा पशुपालन र कृषिमा काम गर्नेहरुले बढी नै अनुदान पाउन सक्छन् । कम गर्नेले कम नै अनुदान पाउँछन् । हामी सबै क्षेत्रमा काम गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाउनेछौँ । किसानको मागका आधारमा पनि अनुदानको व्यवस्था हुनेछ । “एक गाँउ एक उत्पादन” “एक घर एक बगैचा” कार्यक्रमको योजना राखेका छौँ ।
समग्र पालिकामा सडक निर्माणको योजना के बनाउनुभएको छ ?
सडक निर्माण कार्यले तीव्रता नै पाएको छ । भएका सडकको स्तरोन्नति गर्नुपर्ने देखेको छु । भएका सडकहरुमा नाला काटेर वर्षैभरि गाडी चल्ने सडक बनाउने योजना छ । हरेक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने योजना छ । नगरपालिकाले मात्रै कालोपत्रे गर्न नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारका साथै विभिन्न दातृ निकायसँग समन्वय गरेर सडक निर्माण गर्ने योजनामा छौँ ।
रामेछाप नगरपालिकाको आन्तरिक आय न्यून छ ? यसलाई वृद्धि गर्न के गर्नुहुन्छ ?
आन्तरिक आय बढाउन पर्यटकीय स्थल बढाउनुपर्छ । नयाँ–नयाँ उद्योग, व्यापार, व्यवसाय, कलकारखाना स्थापना गर्न प्रोत्साहित गर्नुपर्छ । यसका लागि उद्योगी साथीहरुसँग पनि छलफल गर्छाैँ । नगर उद्योग वाणिज्य संघ, किसान, वुद्धिजीवीसँग पनि छलफल गर्छौ ।
नगरमा युवा पलायन रोक्न कस्ता योजना बनाउनुभएको छ ?
नगरभित्र उद्योग, कलकारखाना नभए पनि केही व्यवसाय, कृषि, पशुपालन, साना घरेलु उद्योग सञ्चालन गर्न युवाहरुलाई आर्थिक, प्राविधिक र प्रविधिजन्य सामग्री सहयोग गर्ने योजना छ । युवाहरुलाई गाउँमै रोजगार बनाउन दातृ निकाय, संघ, प्रदेश सरकारसँग पनि समन्वय गरी रोजगारी बढाउने योजना छ । युवाहरुलाई सरल कर्जाको व्यवस्था गरी स्वरोजगार सृजना गर्ने गरी अगाडि बढ्छौँ ।
लोपोन्मुख र अल्पसंख्यक जातिका लागि केही सोच्नुभएको छ कि ?
रामेछाप नगरपालिकाभित्र हायु, माझी, सुनुवार समुदायको बसोबास छ । उनीहरुको भाषा, सँस्कृतिको जगेर्नाका लागि नगरले काम गर्दैआएको छ । पराम्परागत रुपमा चल्दैै आएका मौलिकतालाई प्रदर्शन गर्न होमस्टे सञ्चालन गर्ने, उनीहरुको भाषालिपि प्रकाशित गर्ने व्यवस्था मिलाएर रोजगारी बढाउने योजना छ । यस्तै दलित, अपाङ्ग, एकल महिलाका लागि विभिन्न वित्तीय संघ–सस्थासँग समन्वय गरी सुलभ कर्जाको व्यवस्था गरी रोजगारी सृजना गर्ने योजना पनि अघि सारेका छौँ । ५ बर्ष भित्र नगरपालिका भित्रका हरेक घरमा स्वरोगार निर्माण गर्ने योजना बनाएका छौँ ।