‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी : गाउँपालिकाको समृद्धि’ को मूलनारा तय गरेको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत आफ्नो कार्यकालमा नागरिकले कुनै समस्या झेल्नु नपर्ने दाबी गर्नुहुन्छ । यसको आधारसहित अन्य योजनाका विषयमा अध्यक्ष महतसँग गरिएको कुराकानीको सारसङ्क्षेप ।
गाउँपालिका समृद्धिको योजना के छ ?
हामीले नीति र कार्यक्रम मार्फत् गाउँपालिकाको समृद्धिको योजना सार्वजनिक गरेकाका छौँ । पहिला त गाउँपालिकालाई साँच्चिकै समृद्ध बनाउन अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुबाट मात्रै सम्भव छैन । सबै पालिकावासीको सामूहिक प्रयासले नै समृद्धि आउने रहेछ । हामीले शिक्षा, स्वास्थ्य, कृषि, युवा रोजगारी जस्ता ४ वटा विषयमा नीति तथा कार्यक्रम केन्द्रित गरेका छौँ । तर कार्यक्रम बनाएर मात्रै पनि हुँदोरहेनछ । नीति कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने भनेर सबै जनप्रतिनिधि र सबै राजनीतिक दलका प्रतिनिधि बसेर छलफल गरेका छौँ । त्यसकै आधारमा बजेट विनियोजन गर्दै समृद्धि थाल्ने हाम्रो आमसहमति भएको छ ।
तीनवटै राजनीतिक दलका नेताहरु, शिक्षक, वुद्धिजीवी, सामाजिक अभियन्ताहरु, पत्रकारसहित सबैजनासँग मैले विगतका कुरा सम्झेर र पछुताएर मात्र समृद्धि आउँदैन भनेर अनुरोध गरेको छु । लिखुलाई समृद्ध बनाउने हो भने काङ्ग्रेस, एमाले, माओवादी भनेर एकले अर्कालाई गाली मात्रै गरेर समृद्धि आउँदैन । सबै दल एकठाँउमा बसेर, नागरिक समाज एकठाँउमा बसेर समृद्धिको सुरुवात गर्न मैले आह्वान गरेको छु । सबैको सहमतिमा नीति तथा कार्यक्रम धेरै राम्रा कार्यक्रम समावेश गरेका छाँै । अब त्यसको कार्यान्वयनमा हामी दृढ छौँ ।
तपाइँले तत्कालै गर्नुपर्ने काम के देख्नुभएको छ ?
तत्कालै गर्नुपर्ने काम भनेकै व्यवस्थापन हो । हामीले राजनीतिकरुपमा भाषण गर्दै र घोषणा–पत्र बनाउँदा जतिपनि महत्वाकाङ्क्षी योजना नागरिकलाई दियौँ ती कुराको व्यवस्थापन गर्नु नै पहिलो प्राथमिकता हो । तरपनि एक्लै व्यवस्थापन गर्नसक्ने सम्भावना छैन । त्यसकारण जनप्रतिनिधि, वडा अध्यक्षज्यूहरु, उपाध्यक्ष, राष्ट्रसेवक कर्मचारी सबैसँगको व्यवस्थापनका पक्षमा म लागेको छु । व्यवस्थापन भन्नाले भौतिक पूर्वाधार निर्माणको व्यवस्थापन, शिक्षामा भएको वेथितिको व्यवस्थापन, कर्मचारीमा देखिएको निराशाको प्रमोशन गर्ने व्यवस्थापन र विकास निर्माणमा जनसहभागिताको व्यवस्थापन गर्नुपर्छ । यी सवै कुराको व्यवस्थापन नगरी समृद्धि आउने विश्वास गर्न सकिँदैन ।
गाउँपालिकाको मुख्य प्राथमिकता कसरी निर्धारण गर्नुभएको छ ?
गाउँपालिकाको पहिलो प्राथमिता शिक्षा हो । मैले चुनावी अभियानमा जाँदा सार्वजनिक विद्यालयका धेरै ठाउँका विद्यार्थीहरुलाई डटपेन र नोटबुक दिएर लेख्न लगाएको थिएँ । ५–६ कक्षाका कति विद्यार्थीहरु आफ्नो र विद्यालयको नाम पनि राम्रोसँग लेख्नसक्ने अवस्थामा छैनन् । यो सुधार्नु छ ।
दोस्रो प्राथमिकता स्वास्थ्य हो । सरकारले ३६ प्रकारका औषधि निःशुल्क दिएको छ । स्वास्थ्य बीमाको कुरा छ । ५–६ थरि घातक रोगको उपचारको व्यवस्था गरेको छ । तर नागरिक यसमा सचेत छैनन् । चेतनाकै अभावमा नागरिक नजिकैको मेडिकलमा औषधि किन्न जान्छन् र हेल्थपोष्टमा भएका औषधि खेर गइरहेको छ । त्यसकारण जनचेतना सिर्जना गर्ने र निःशुल्क औषधिको अधिकतम उपयोग गराउने लक्ष्य छ ।
तेस्रो प्राथमिकता कृषिलाई राखेका छौँ । कृषिमा ६५ प्रतिशत बढी नागरिक सङ्लग्न देशका रुपमा नेपाल चिनिएको छ । कुनै डकुमेन्टमा पेसा लेख्दा हामी कृषि लेख्छौँ तर खेतबारीमा कहिल्यै जाँदैनौँ । त्यसैले कृषि उत्पादन र उपभोग पनि घटिरहेको छ । हामी कोदो भकारीमा सडाएर राख्छौँ, तर बजारबाट चामल किनेर खान्छौँ । त्यसैले हामीले नीति तथा कार्यक्रममै कृषिउत्पादन पनि बढाउने र उपभोगका लागि चेतना पनि जगाउने कुरा राखेको छौँ । उत्पादित र घरमा भएका मकै, कोदो खेर नफाली सकेसम्म बढी उपयोग गर्नुस्, नपुग खाद्यन्न पनि अर्को गाउँबाट किनेर खानुस् भनेर जागरण ल्याउँछौँ । आयातित चामल खानुभन्दा स्थानीयस्तरमै फलेको अन्न खान प्रेरित गर्छाै । आफूलाई चाहिने तरकारी आफैँले उत्पादन गरेर खाने र बढी तरकारी बेचेर आम्दानी गराउन प्रेरित गर्ने कार्यक्रम यो बर्षको कार्यक्रममा राखेका छौँ ।
अर्को, युवा स्वरोजगार कार्यक्रम । कृषिमा युवा स्वरोजगार कार्यक्रम अन्र्तगत वाली लगाउँदा १५ दिन र बाली भित्र्याउँदा १५ दिन घरमा आउने वातावरण बनाउने नीति तयार गरिएको छ । यसो गर्दा आफ्नो घर–परिवार, गाउँ–समाजप्रति ममता बढ्छ र कम्तीमा ४ महिना युवालाई गाउँमा राख्नसके कृषिउत्पादन पनि बढाउन सकिन्छ । कृषिमा लाग्ने युवालाई पालिकाले केही रकम सहयोग गरेपछि रोजगारीका लागि अन्त भौतारिनु पर्दैन भन्ने कुरामा मलाई विश्वास पनि छ ।
तपाइँले उत्पादन बढाउने कुरा गर्नुभयो, बजारीकरणको योजना चाहिँ के छ ?
हामीले अधिकतम उत्पादन हुने वस्तुहरु जस्तो ः दुरागाउँमा आलुलाई विशेष जोड दिने र वर्षको कम्तीमा १ सय ट्रक आलु बिक्री गर्ने योजना बनाएका छौँ । आलुको बजारीकरणका लागि किसानलाई ढुवानीमा कस्तो सुविधा दिनसकिन्छ भनेर छलफल भइरहेको छ । लिखुमा किसानले गोलभेँडा पनि फलाइरहेका छन् । त्यसको पनि बजारीकरण गर्न सकिन्छ । एक ठाउँमा सङ्कलन गरेर नजिकैको बजारमा लाने कि भनेर सोच बनाइरहेका छौँ । ढुवानीलाई अलि सरल बनाउन बाटो पनि सहज हुनुपर्ने रहेछ । त्यसकारण यो बर्ष धोबीसम्मको ७ किलोमिटर बाटो कालोपत्रे गर्ने योजना बनाएका छौँ ।कालोपत्रे सडक भएपछि अहिलेको भन्दा ६० प्रतिशत भाडा घट्ने रहेछ । त्यस्तै सहकारी मार्फत् उत्पादन सङ्कलन गरेर बिक्री गर्ने व्यवस्था यसैवर्षदेखि सुरु गर्ने योजनामा छौँ ।
तपाइँले राजनीतिक समझदारीका आधारमा कार्यक्रम अघि बढाउने कुरामा जोड दिनुभयो, चुनावी घोषणा–पत्र आधारित योजनाबारे के भन्नुहुन्छ ?
लिखु तामाकोशीमा त्रिपक्षीय किसिमको चुनावी परीणाम छ । शब्द फरक भएपनि सबै राजनीतिक दलको आशय एउटै छ, लिखुमा समृद्धि ल्याउनु । समृद्धि ल्याउन प्राथमिकीकरण गर्ने भनेकै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सिँचाई, खानेपानी हो । सबैको आशय पनि यही हो । तसर्थ राजनीतिक दलको सहमतिमा सबैको भावनालाई समेटेर, विज्ञको राय पनि थपेर योजना बनाएका छौँ ।
अबको ५ वर्षमा नागरिकले देख्नेगरी के–के काम सम्पन्न होला भन्ने लागेको छ ?
शिक्षामा हामीले धेरै कार्यक्रम राखेका छौँ । पहिला सुरुदेखि ५ कक्षासम्म शिक्षक र विद्यार्थीलाई हरेक ४–४ महिनामा तालिम दिने, अभिभावकहरुलाई तालिम दिने र विद्यार्थीलाई सचेत गराउने, शिक्षिकालाई घर व्यवस्थापन गरेर विद्यालय जाउँ–जाउँ कसरी बनाउने, विद्यार्थीलाई शिक्षकलाई कतिखेर भेटौं जस्तो कसरी बनाउने भनेर एउटा कार्यक्रम राखेका छौँ । सम्भवतः अब यो कार्यक्रम तुरुन्तै सुरु हुन्छ । यसले परिणाम ल्याउँछ भन्ने आशा छ ।
अर्को, अघि पनि भनेँ, सकेसम्म मानिसलाई यो मैले उत्पादन गर्नुपर्ने रहेछ, यो उत्पादन गरे बजार गएर किन्नुपर्ने रहेनछ भन्ने अनुभूति दिलाउँछाँै । बजारमा जानु नपर्दा र किन्नु नपर्दा मेरो यति पैसा जोगियो, त्यो पैसाले मैले मोबाइल रिचार्ज, टिभी रिचार्ज र बिरामी हुँदा औषधि किन्न सकेँ भन्ने अनुभूति हुनेगरी कृषिमा कार्यक्रम राखेका छौँ । हरेक वडाका अध्यक्ष र सदस्यहरु रहेको १७ जनाको टिम नै किसानको घर–घरमा गएर खेतीमा लाग्न प्रेरित गर्छाै । उपचारका लागि गाउँकै स्वास्थ्य संस्थामा जान प्रेरित गर्छौँ । काठमाडौंँ जाँदैमा र धेरै पैसा खर्च गर्दैमा रोग निको हुँदैन भन्ने सन्देश हामी घरघरमै गएर दिन्छौँ । पलिकाबाट वडा कार्यालयसम्म पुग्ने र बाह्रै महिना गाडी चल्नसक्ने सडक बनाउने लक्ष्य छ । सबैको राय, सल्लाह अनुसार हलेदे–धोवी सडकलाई पहिलो प्राथमिकतामा राखेका छौँ । यी ४–५ वटा कार्यक्रमले १ बर्षपछि लिखुमा परिवर्तन शुरु भएछ भन्ने अनुभूति जोसुकैले गर्नसक्छ । पत्रकारले सकारात्मक समाचार लेख्ने वातावरण लिखु तामाकोशी गाउँपालिकाले निर्माण गर्छ ।
अघिल्लो कार्यकाल विवादमा बित्यो, यसलाई कसरी सिकाइका रुपमा लिनुभएको छ ?
अघिल्लो कार्यकलमा लिखुमा ग्रामीण विद्युतीकरण भयो, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । उज्यालो लिखु भन्ने कार्यक्रमलाई अघिल्लो नेतृत्वले सफल बनाएको छ । बाँकी बिषयका विवाद सबैसामू प्रष्टै छ, मैले भनिरहन परेन । तर अब त्यस्तो विवाद र वैमनस्यता लिखुमा हुँदैन । लिखुवासीलाई स्थानीय सरकारको अनुभूति दिलाउन मैले दल र नेताहरुसँग निरन्तर परामर्श गरेको छु ।
तपाइँको पालिकाका कतिपय स्थान विपदको जोखिममा छ, विपद् प्रतिकार्य योजना के छ ?
प्राकृतिकरुपले विपद्युक्त ठाउँ खिम्ती र दुरागाउँको तल्लो भेग हो । ती ठाउँ भुकम्पपछि जोखिमयुक्त क्षेत्र भनेर जिल्ला दैवि प्रकोपले घोषणा पनि गरेको छ । अरु सानातिना जोखिमका ठाउँ पनि छन् । हामीले जोखिम व्यवस्थापन कोष बनाएका छौँ । त्यो कोषमार्फत् असजिलो र अप्ठ्यारा ठाँउहरुमा कसरी राहत दिन सकिन्छ भनेरै राहतको व्यवस्था गरेका छौँ । बाटो खनेकै कारण कसैको घर–वस्तीमा असर नहोस् भन्ने कुरामा पनिै चनाखो र सजग छौं । त्यस्तै विपद प्रतिकार्य योजना समिति पनि छ, त्यसले विपदयुक्त ठाउँमा अनुगमन गरेर राहतको सिफारिस गर्छ । सिफारिसका आधारमा राहत दिन्छौं ।
तपाइँले कृषि उत्पादन बढाउने कुरा गर्नुभयो, किसानले मल नपाएको गुनासो छ, यस विषयमा के सोच्नुभएको छ ?
यो बर्ष मात्रै होइन, मल अभाव राष्ट्रिय समस्या हो । राष्ट्रले नै मल आपूर्ति गर्न सकेको छैन । साल्ट टे«डिङ र कृषि सामग्री संस्थानले मात्रै मल आयात गर्न पाउने, अरुले मल ल्याए समातेर थुन्ने काम भएको छ । मल नहुँदा यो बर्ष पनि किसानले बढी मूल्यमा मल किन्नु परेको छ । गाउँपालिकाले मल दिन नसकेकोमा म क्षमा पनि माग्न चाहन्छु । तर आउँदो बर्ष समयमै मल ल्याउन के गर्न सकिन्छ भनेर सोचिरहेका छौँ । सहकारी मार्फत् बजेट व्यवस्थापन गरेर मल सहज बनाउने सोचेका छाँै । किसानलाई मालपोत कर तिर्न चेतनशील बनाउने र उठेको करबाट मल–बीउ किन्न अनुदान दिने बारे छलफल भइरहेको छ । आगामी वर्षदेखि पालिकाका कुनै किसानले मल–बीउको अभाव झेल्नु पर्दैन ।
जमिनमा अम्लीयपन बढ्दै गएको विज्ञहरूले बताएका छन्, माटो सुधारको योजना के छ ?
हामीले बजेटमै कृषियोग्य जमिनको माटो परीक्षण गर्ने कार्यक्रम राखेका छौँ । त्यसपछि निराकरण गर्न के विधि अपनाउन सकिन्छ विज्ञहरुको राय सुझावका आधारमा अघि बढ्छौँ ।
अन्त्यमा के भन्नुहुन्छ ?
म सम्पूर्ण लिखुतामाकोसी गाउँपालिकाबासीलाई समृद्धि जादुको छडी जस्तो होइन, एकैचोटी गर्न पनि सकिँदैन र समृद्धि जनप्रतिनिधिले मात्रै गर्न नसक्ने सभएकाले नागरिक सहभागिताका लागि अपील गर्न चाहान्छु । कामको खोजिमा बाहिर रहेका पालिकाबासीलाई समृद्ध पालिका बनाउने बारे छलफलमा आउन आह्वान गर्दछु । जनधारणा र सुझाव अनुसार पालिका अघि बढ्न तयार छ । देश, विदेश जहाँ बसेपनि हाम्रो परिचय लिखुसँगै भएकाले लिखुको समृद्धिका लागि हातेमालो गर्न लिखुबासीलाई आग्रह गर्दछु ।